रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।
दुर्घटनाका गम्भीर घाइते ७ जना (महिला ३, पुरुष ४) जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याइएको सेनाले जनाएको छ।
सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरे र असई पर्शुराम यादवको मृत्यु भएको हो।
घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो।
उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्।
असई यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमिल्सनाले जानकारी दिए।
गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए।
Shares

प्रतिक्रिया