समाज


मौन अवधिमा भ्रमपूर्ण सूचना फैलनसक्नेतर्फ सचेत रहन सञ्चारकर्मीलाई महासंघको अपिल

मौन अवधिमा भ्रमपूर्ण सूचना फैलनसक्नेतर्फ सचेत रहन सञ्चारकर्मीलाई महासंघको अपिल

नेपालखबर
फागुन १७, २०८२ आइतबार २१:४८, काठमाडौँ

नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

अध्यक्ष निर्मला शर्माले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अझै पनि नेपाली सञ्चार जगत ‘सेल्फ सेन्सरसिप’ को अवस्थामा रहेको बताएकी छन्। 

उनले निर्वाचनको बेला मिथ्या सूचनाको बाढी लाग्न सक्नेतर्फ सचेत गराउँदै सञ्चारमाध्यम र सञ्चारकर्मी थप सजग हुनुपर्ने बताएकी छन्। 
निर्वाचनको मौन अवधिमा यस्ता भ्रमपूर्ण सूचनाहरू अझ बढी फैलनसक्ने महासंघले औँल्याएको छ।

‘अहिले समाज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुन समाचार हो, कुन होइन भन्ने व्याप्त भ्रममा अल्झेको छ। यस्ता भ्रम मौन अवधिमा अझै बढी फैलाउने प्रयास हुनसक्छन्’  महासंघले भनेको छ, ‘समाजका यी भ्रमहरूलाई चिर्न सत्य–तथ्य र निष्पक्षमा आधारित रहेर सामग्री प्रकाशन, प्रसारण गरेमात्रै पत्रकार र सञ्चारगृहले आफ्नो उत्तरदायी भूमिका र व्यावसायिक धर्म पूरा गरेको व्यवहारतः देखिने छ। महासंघ श्रमजीवी पत्रकारको साझा पेशागत संगठन भएकाले यसको साझा चरित्रलाई बचाइ राख्नु प्रत्येक सदस्य र पत्रकार साथीहरूको कतर्व्य हो।’

यस्तो छ विज्ञप्ति
सात दशक लामो गौरवपूर्ण इतिहास रहेको नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारको हकहितमा समर्पित साझा पेशागत संगठन हो। महासंघ पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै लोकतान्त्रिक पद्धतिको स्थापना र विकासमा समर्पित नागरिक अगुवा संस्था पनि हो।
 
नागरिक अगुवा संस्थाको नेतृत्व गरेकै कारण मुलुकमा वर्तमान राजनीतिक अन्योल निर्वाचनको माध्यमबाट अन्त्य हुनुपर्छ भन्ने महासंघ मान्यता राख्दछ। लोकतन्त्रको सुन्दर पक्ष भनेको दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनु हो। जनमतबाट अनुमोदित र लोकतान्त्रिक मूल्य, मान्यतालाई स्थापित गर्न यही फागुन २१ गते आमनिर्वाचनका लागि सबै दलहरू आ–आफ्ना एजेन्डा र उम्मेदवारसहित देशभर प्रचार–प्रसारमा जुटेका छन्।
 
जेन्जीको आन्दोलनका बेला सञ्चारगृहले सबैभन्दा बढी भौतिक क्षति, पत्रकारले असुरक्षा र  ‘सेल्फ सेन्सरसीप’ व्यहोरेका थिए। अहिले पनि अघोषित सेन्सरसीप छ। ती घटना आफैंमा निन्दनीय हुन्।

तर, समाजले नेपाली सञ्चारजगतलाई कसरी हेरिरहेको छ भन्ने प्रश्न गम्भीर रूपमा उब्जिएका छन्। संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भरपुर निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्नेमा महासंघ प्रष्ट छ।
 
यद्यपि पत्रकार तथा सञ्चारगृहले पनि नियामक निकाय प्रेस काउन्सिल र महासंघको प्रतिबद्धता एवं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालनामा इमान्दारिताका साथ समाजप्रति उत्तरदायी भई समाचार प्रकाशन र प्रसारण गर्न उत्तिकै जरूरी छ।

वर्तमान अवस्थामा देखिएको संवैधानिक जटिलताका कारण समाज यतिखेर पूरै तरंगित छ। जसका कारण सबैभन्दा बढी सञ्चारजगत जिम्मेवार र संवेदनशील भएर प्रस्तुत हुनुपर्ने अहिलेको अवस्था छ।

निर्वाचनको बेला भ्रम फैलाउने सूचनाको बिगबिगी सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन्। जसले समाजलाई गलत दिशातिर डोर्‍याउन खोजेको छ। यसलाई रोक्ने भनेको सञ्चारमाध्यमले नै हो। सही, सत्य र निष्पक्ष समाचारभन्दा अर्को विकल्प छैन। अहिले समाज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुन समाचार हो, कुन होइन भन्ने व्याप्त भ्रममा अल्झेको छ। यस्ता भ्रम मौन अवधिमा अझै बढी फैलाउने प्रयास हुनसक्छन्। समाजका यी भ्रमहरूलाई चिर्न सत्य–तथ्य र निष्पक्षमा आधारित रहेर सामग्री प्रकाशन, प्रसारण गरेमात्रै पत्रकार र सञ्चारगृहले आफ्नो उत्तरदायी भूमिका र व्यावसायिक धर्म पूरा गरेको व्यवहारतः देखिने छ। महासंघ श्रमजीवी पत्रकारको साझा पेशागत संगठन भएकाले यसको साझा चरित्रलाई बचाइ राख्नु प्रत्येक सदस्य र पत्रकार साथीहरूको कतर्व्य हो।
 
सञ्चारमाध्यम र पत्रकारहरूले सरोकारवाला पक्ष, संस्थाको चासोप्रति संवेदशील रहेर सम्बोधन गर्नु हरेक संस्था र नेतृत्वको मुख्य दायित्व हो भन्नेमा दुईमत छैन। सम्पूर्ण सहकर्मी साथीहरू, महासंघ श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको विषयलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको विदितै छ।
 
थुप्रै श्रमजीवी पत्रकारहरू अहिले पनि पेशागत तथा भौतिक असुरक्षा झेलिरहेकै छन्। निर्वाचनको बेलामा पत्रकारहरूले अझै बढी भौतिक असुरक्षा भोगिरहेका छन्। यी कठिनाइका बीच आसन्न आमचुनाव सफलतापूर्वक सम्पन्न गराउन हामीले लेख्ने समाचार, बोल्ने भाषा, तर्क, विश्लेषणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
 
संवैधानिक जटिलता देखिएको बेला यसलाई स्थायी निकास दिन हाम्रो पनि उत्तिकै दायित्व छ। संविधान रहेमात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहन्छ। तसर्थ मुलुकको यो संवेदनशील अवस्थामा प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचारसंहिता, महासंघले गरेको प्रतिबद्धतालाई पूर्णरूपले परिपालना गर्न र पेशागत इमान्दारिताका साथ उच्च व्यावसायिकताको पुनर्पुष्टि गर्न सम्पूर्ण पत्रकार र सञ्चागृहलाई महासंघ हार्दिक अपिल गर्दछ।

निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग अनुरोध गर्दछौं। पत्रकार र सञ्चारमाध्यमका सवारी साधनलाई प्रेस पासका आधारमा निर्वाध रूपमा आवाज–जावत गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्दछौं। र, पत्रकारलाई सुरक्षित रहेर कार्यस्थलमा जुट्न महासंघ अनुरोध गर्दछौं।
 
साथै, निर्वाचनको समयमा दुर्गम क्षेत्रमा खटिने पत्रकारहरूको सुरक्षा र आकस्मिक उद्धारका लागि ‘मिडिया सेफ्‌टी डेस्क’ र आवश्यक परेको खण्डमा हवाई उद्धारको व्यवस्था मिलाउन महासंघ राज्यलाई आग्रह गर्दछ।

 निर्मला शर्मा
अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad