झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
गएराति करिब साढे नौ बजेतिर बिर्तामोड नगरपालिका-४ कञ्चनजंघा स्कुल छेउमा भएको दुर्घटनामा झापाकै मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाकै कनकाई नगरपालिका-६ बस्ने २५ वर्षीय चन्द्र किशोर चापागाईँ गम्भीर घाइते भएका छन्।
बिर्तामोडबाट शैनिक बजारतर्फ जाँदै गरेको बागमति प्रदेश-०१-०२५च ६०५० नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१-०१६प ३९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारको बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
गम्भीर घाइते चापागाईँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार चालक बिर्तामोड नगरपालिका ६ बस्ने २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले पक्राउ गरेको छ।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
Shares

प्रतिक्रिया