समाज


खेत बेचेर पढेका प्रमोदसँगै ढल्यो परिवारको सहारा

लोकसेवा पास गरेर इन्जिनियर बनेको एकवर्ष नपुग्दै हत्या
खेत बेचेर पढेका प्रमोदसँगै ढल्यो परिवारको सहारा

सुभाष कर्ण
फागुन ५, २०८२ मंगलबार १५:१, जनकपुरधाम

गएको आइतबार साँझको ८ बज्दै थियो। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित जिल्ला अदालत नजिकै अचानक गोलीको आवाज सुनियो। 

केही बेरअघिसम्म परिवारसँगै डेरा कोठामा रहेका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादव छातीमा गोली लागेर बरण्डामै ढले। छिमेकीहरू बाहिर निस्कँदासम्म मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्ति अँध्यारोको मौका छोपेर गल्लीतिर हराइसकेका थिए। 

प्रमोद आइतबार (फागुन ३ गते) दिउँसो मात्र बुवाको काजकिरिया सम्पन्न गरी सिराहाकाे गाउँबाट अफिस फर्किएका थिए। 

गएको माघ १४ गते बुवा लक्ष्मण यादवको निधन भएपछि सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा घर पुगेका थिए। 

कार्यालयबाट आइतबार साँझ कोठामा गएलगत्तै आफ्नै डेरामा उनीमाथि गोली प्रहार भयो। 

गोली लागेर बरण्डामै ढलेका यादवलाई प्रहरी टोलीले तत्कालै नजिकै रहेको प्रादेशिक अस्पताल मलंगवा पुर्‍यायो। तर, अस्पताल पुर्याउँनासाथ चिकित्सकले मृत घोषणा गरे। 

घटनास्थलबाट एकथान पड्किएको गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ। यादवको हत्यामा सानो हतियार प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रमोदको जीवन कथा संघर्षमय छ। एक वर्षकै उमेरमा आमा गुमाएका प्रमोद बुवाको काखमै हुर्किएका थिए।  

यादव परिवारको जीविकोपार्जनको प्रमुख आधार कृषि थियो। बुवा लक्ष्मणले छोरालाई सिभिल इन्जिनियर बनाउने सपना देखे। आर्थिक अवस्था कमजोर भएपनि इच्छा शक्ति लक्ष्मणमा बलियो थियो। 

छोराको पढाइका लागि गाउँको धेरै खेत उनले बेचेको स्थानीय बताउँछन्। 

गाउँकै जनता माध्यमिक विद्यालयबाट एसएली गरेका प्रमोदले जनकपुरधामको निजी कलेजबाट १२ कक्षा उत्तीर्ण गरे। त्यसपछि उनी भारतको बेंगलुरु पुगेर सिभिल इन्जिनियरिङको अध्ययन गरे। जनकपुरधाममा पढ्दा उनले पढाइ खर्च जुटाउन ट्युसन पढाएर खर्च जुटाएका थिए। 

भारतको बैंगलोरमा पढाइ सकेर फर्किएका प्रमोदले लोकसेवामा नाम निकाल्न पनि वर्षौं मेहनत गरे। उमेर ढल्किँदै जाँदा पनि उनले हिम्मत हारेनन्। 

अन्ततः ३५ वर्षको उमेरमा लोकसेवा आयोगबाट नाम निकाल्दै गत वर्षमात्रै निजामती सेवामा प्रवेश गरेका थिए प्रमोद। 

जिल्ला पूर्वाधार विकास कार्यालय, मलंगवामा पोस्टिङ पाएका प्रमोदले जागिरे जीवनको परीक्षणकाल लगभग पूरा गरिसकेका थिए। 

सरकारी सेवामा प्रवेश गरेको वर्ष दिन पुग्नुभन्दा एक दिन अगावै उनको जीवन नै समाप्त भयो। उनी श्रीमति र छोरीसँगै डेरामा बस्थे।

परिवारका लागि उनी केवल छोरामात्र थिएनन्, जीवनको सहारा पनि थिए। दुई दाजु र चार दिदीबहिनीमध्ये कान्छा प्रमोद मात्रै यादव परिवारको आम्दानीको प्रमुख आधार थिए। 

चार वर्षअघि मात्रै सिरहाकै नवराजपुर–३ मझौरामा विवाह गरेका उनकी काखमा दुई वर्षकी छोरी छिन्। श्रीमती र छोरीसँगै कार्यालय नजिकै डेरा गरेर बस्दै आएका उनी अब सम्झनामा सीमित भएका छन्। 

बुवाले खेत बेचेर प्रमोदलाई पढाउँदा देखेको सपना, दाजुभाइको आशा र छोरीले चिनेको बाबुको अनुहार—सबै एकै साँझमा बिलिन भएको छ। 

प्रमोदका दाजु मनोज यादव जसपाका कार्यकर्ता हुन्। उनी गाउँमै सामान्य खेती किसानी गर्छन्। 

अहिलेसम्म परिवार सगोलमै रहेको कारण भाई प्रमोदले नै उनको परिवारको पनि खर्च व्योहर्दै आएका थिए। मनोजका चार छोरी छन्। उनीहरूको आर्थिक सहाराको आधार पनि प्रमोद नै थिए। ‘अब प्रमोद बितेपछि यादव परिवार नै टुहुरो भएको छ,’ स्थानीय शितल यादवले नेपालखबरसँग भने। 

उनको हत्याले प्रमोदको परिवार मात्रै होइन, गाउँ नै शोकमा डुबेको छ। सबै प्रमोदले ‘दुःख गरेर पढेको थियो, अपराधिले जागिरको एक वर्ष नपुग्दै ज्यान लिए’ भनिरहेका छन्। 

मनोज भन्छन्, ‘प्रमोद परिवारको कान्छा छोरा भएपनि हाम्रो परिवारका लागि घरको पिलर थियो। घरको आर्थिक खर्च मात्रै होइन हरेक सुखदुःखमा सहरा दिने एउटा भरोसाको आधार थियो। अब त्यो आधार रहेन।’

मनोजलाई आफ्नो भाइ र परिवारका कुनै पनि सदस्यले आजसम्म कसैको केही बिगारेको वा क्षति पुर्‍याएको थाहा छैन। ‘के कति कारणले मेरो भाइको ज्यान समाप्त पारियो प्रहरीले घटनाको यथार्थ सार्वजनिक गरोस्,’ मनोजले भने। 

उनले स्थानीय प्रशासनसँग घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलई कडा कारबाही गर्न पनि माग गरे। 

घटना लगत्तै स्थानीय प्रशासनले तुरुन्तै मलंगवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ। 

नेपाल–भारत सीमासँग नजिक भएकाले संलग्न व्यक्ति सीमापार फरार भएको आशंका प्रहरीको छ। ‘सिसिटिभी फुटेज संकलन र अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले भने। 

सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेर भएको बताए। 

प्रमोदको हत्या कसले र किन गर्‍यो प्रश्न अनुत्तरित छ। उनीसँग कार्यालयको काम सम्बन्धी कसैसँग कुनै विवाद थियो कि, व्यक्तिगत कारणले हत्या भएको हो, प्रहरीले छुट्याउन सकेको छैन। 

गाउँमा भने प्रमोदको सम्झना संघर्ष र इमानसँग जोडिएको छ। 

बुवाको काजकिरिया सम्पन्न गरी सबै समुदायलाई भोज खुवाएर फर्किएका उनीप्रति कसैको ठूलो गुनासो रहेको वा कसैसँग भनाभन र परिवारमा कुनै मतभेद रहेको स्थानीयलाई थाहा छैन। 

सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवका अनुसार इन्जिनियर प्रमोदकुमारका बुवाको तीन दिनअघि मात्र भव्य रुपमा काजकिरिया सम्पन्न भएको थियो। 

मलंगवाको त्यो साँझको घटनाले अहिले पनि सिरहा सुखीपुर वैशखाका गाउँका लागि सन्नाटा बनेको छ। तर त्यो सन्नाटाभित्र एउटा प्रश्न निरन्तर गुञ्जिरहेकै छ—संघर्षले बनाएको जीवन यति सजिलै किन तोडियो? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad