समाज


काठमाडौँ महानगरले सुरु गर्‍यो आधारभूत तहको प्रश्नपत्र निर्माण तथा मूल्यांकन

काठमाडौँ महानगरले सुरु गर्‍यो आधारभूत तहको प्रश्नपत्र निर्माण तथा मूल्यांकन

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८२ आइतबार ७:२२, काठमाडौँ

काठमाडौँ महानगरपालिका आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’मा जुटेको छ। विद्यार्थीको मूल्याङ्कनका तरिका र प्रश्नपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउनका लागि कामपाले प्रशिक्षणको आयोजना गरिसकेको छ।

कामपा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘शिक्षा भनेको योग्यता मापनको सूचक मात्र होइन । शिक्षाले व्यक्तिलाई विपन्नताबाट सम्पन्नता प्रदान गर्न सक्नुपर्छ। यसका लागि कामपाका सामुदायिक विद्यालयमा सङ्घ सरकारको लगानीमा कामपाले कालिकाले रु एक अर्ब ३२ करोड लगानी थप गरेको छ । अभिभावकको आर्थिक, सामाजिक अवस्थाले पनि शैक्षिक गुणस्तर कायम गराउन भूमिका खेलेको हुन्छ । आन्तरिक र बाह्य समन्वयलाई मजबुत बनाउनेछौँ।’

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले विद्यालय शिक्षाको राष्ट्रिय, तहगत, कक्षागत र विषयगत उद्देश्य, विषयगत सक्षमता तथा प्रमुख सिकाइ क्षेत्र व्यवस्थित गरेको जनाउँदै उनले यसको विद्यालय तथा कक्षाकोठामा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताए। 

कामपा विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले भने, ‘शिक्षक सक्षमताको प्रारूप, २०७२ ले निरन्तर सिकाइ र पेसागत विकासलाई शिक्षकको एउटा प्रमुख सक्षमताका रूपमा उल्लेख गरेको छ।’

यसैअनुसार शिक्षकलाई प्रश्नपत्र विकास एवम् मूल्याङ्कनसम्बन्धी तालिम दिइएको उनले उल्लेख गरे।

तालिमबाट आधारभूत तहको सिकाइ मूल्याङ्कन गर्ने विधिमा समानता आउने कामपाले विश्वास व्यक्त गरेको छ । स्रोत शिक्षक रश्मी तामाङले भनिन्, ‘शिक्षकका लागि यो नयाँ अभ्यास हुनेछ।’

राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ आधारभूत तहअन्तर्गत कक्षा ४ र ५ को पाठयक्रम २०७८ मा स्वीकृत भएर कार्यान्वयनमा आएको छ । यो प्रारुप २०७९ मा संशोधन भएको छ । आधारभूत तहअन्तर्गत कक्षा ६, ७ र ८ को पाठ्यक्रम, २०७७ मा स्वीकृत भएर कार्यान्वयनमा आएको कामपाको शिक्षा तथा स्वास्थ्य समितिले जनाएको छ।

पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४ देखि ८ सम्म तहगत र कक्षागत विषयगत विशिष्टीकरण तालिका विकास गरिएको छ । विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० जारी गरिएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) (ज) मा आधारभूत शिक्षा तथा माध्यमिक शिक्षाअन्तर्गत स्थानीय तहको काम, कर्तव्य र अधिकारअन्तर्गत शिक्षण सिकाइ, शिक्षक तथा कर्मचारीको तालिम र क्षमता विकाससम्बन्धी काम पर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad