समाज


सर्वाधिक सुरक्षा चुनौती भएको झापा प्रहरीको कमान्ड एसपी बसुन्धरा खड्कालाई

ओली-बालेन टक्करका कारण बढ्यो चुनौती, एक सय प्रहरी थप
सर्वाधिक सुरक्षा चुनौती भएको झापा प्रहरीको कमान्ड एसपी बसुन्धरा खड्कालाई

उजिर कार्की
माघ ७, २०८२ बुधबार २२:५१, काठमाडौँ

दुई कट्टर विरोधीको चुनावी प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनीसँग भिड्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले चुनौती बढेको सुरक्षा निकायको विश्लेषण छ। 

मंगलबार मनोनयन दर्ताका क्रममा पनि दुई समूहबीच झडप भएको थियो। त्यसअघि झापा पुगेकै दिन ओलीले सुरक्षामाथि प्रश्न उठाएका थिए। तर ओलीको प्रश्न भने एसपी सरुवाप्रतिको असन्तुष्टि थियो। 

सरकारले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाएको छ। लिम्बू फिर्ता भएपछि खड्काले शुक्रबारदेखि देशकै ठूलो सुरक्षा चुनौती मानिएको जिल्लाको कमान्ड सम्हाल्नेछिन्। 

उनी यसअघि बागमती प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन्। त्यसअघि उनले काभ्रे जिल्लाको कमान्ड गरेकी थिइन्। काभ्रेमा कार्यरत रहँदा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेश प्रहरीले सम्मान गरेको थियो। 

लिम्बूको सरुवा हुने समय भए पनि उनको सरुवामा अन्य कारण पनि जोडिएको उच्च सुरक्षा स्रोतको दाबी छ। एसपी लिम्बू पहिले केपी शर्मा ओलीको पीएसओ पनि थिए। उनलाई तत्कालीन प्रधानमन्त्री ओलीकै रोजाइमा झापा लगिएको थियो। २०८१ माघमा जिल्ला प्रहरी कार्यालय चितवनमा काजमा खटाइएका लिम्बूलाई २०८२ वैशाखमा झापा सरुवा गरिएको थियो। 

तर चुनावको आचारसंहिता लाग्ने अन्तिम रात उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौँ सरुवा गर्दै खड्कालाई जिम्मेवारी दिइएको हो। खड्काले यसअघि २०७४ सालको निर्वाचनमा पनि जिल्ला प्रहरी कार्यालय म्याग्दीको कमान्ड गरेकी थिइन्। 

२०७४ वैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन हुँदा उनी म्याग्दीको प्रहरी कमान्डर थिइन्। 

२०६४ सालको निर्वाचनमा पनि उनले तत्कालीन सोह्रखुट्टे प्रभागको कमान्ड गरेकी थिइन्। अहिले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चुनौतीपूर्ण जिल्लाको कमान्ड उनैलाई सुम्पिएका हुन्। 

बिहीबार प्रहरी महानिरीक्षकबाट निर्देशन लिएर शुक्रबार झापाको जिम्मेवारी सम्हाल्ने खड्काको तयारी छ। खड्कासँगै झापाका दुई वटा इलाका प्रहरी कार्यालयका पनि प्रमुख हेरफेर भएका छन्। 

इलाका प्रहरी कार्यालय काकडभिट्टा प्रमुख राजन लामालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय सरुवा गरिएको छ। काकडभिट्टाको जिम्मेवारी निशेष चापागाईंले पाएका छन्। 

निर्वाचन ५ मा पर्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख पनि हेरफेर भएका छन्। त्यहाँका प्रमुख रामप्रसाद तिमल्सिनालाई सरुवा गर्दै डीएसपी किशोर लम्साललाई खटाइएको छ। लम्साललाई भने यसअघि नै काजमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटाइएको थियो। अहिले उनको सरुवा त्यहीँ कायम गरिएको हो। लम्साल केही समयदेखि दमकमै छन्। 

खासगरी झापा ५ मा उम्मेदवार बनेका केपी ओली र बालेन्द्र शाहको पहिलेदेखि नै सम्बन्ध सुमधुर छैन। उनीर्‍ले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट पनि एकअर्कालाई छेडखानी गर्दै आएका थिए। 

जेनजी आन्दोलनपछि त एमाले र बालेन्द्र शाहको समूह एकअर्काविरुद्ध उजुरी लिएर प्रहरी कार्यालय नै पुगेका थिए। बालेनको समूहले केपी ओलीसहितलाई जेनजी आन्दोलनमा गोली लागेर मारिएका युवार्‍को ज्यान मुद्दामा पक्राउ गरेर कारबाही गर्न माग गर्दै उजुरी दिएको थियो। त्यसको प्रतिवादमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन्द्र शाहसहितलाई सिंहदरबार जलाएको जस्ता आरोप लगाउँदै पक्राउ गरेर कारबाही हुनुपर्ने माग गरेको थियो। 

तर प्रहरीले दुवै पक्षका उजुरी तामेलीमा राखेको थियो। केपी ओली र बालेन्द्रको सम्बन्ध प्रधानमन्त्री र मेयर हुँदा पनि राम्रो थिएन। कर्मचारी सरुवादेखि हरेक मुद्दामा विवाद हुँदै आएको थियो। 

ओली जेनजी आन्दोलनसम्म प्रधानमन्त्री थिए भने अब एमालेको सरकार बन्दा पनि उनी नै प्रधानमन्त्रीको उम्मेदवार हुन्। बालेन्द्र शाहलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको हो। 

प्रधानमन्त्रीको उम्मेदवार तोकिएका बालेन ओलीको गढमा भिड्न गएपछि एमाले थप आक्रोशित देखिएको छ। एमाले नेतार्‍ले यसलाई अस्वाभाविक रुपमा लिँदै ओलीसँगै बदलाको भावले निहुँ खोज्न झापाको आएको आरोप लगाएका छन्। 

प्रहरी उच्च स्रोतले भन्यो, ‘यी दुई उम्मेदवारको इगोले हामीलाई चुनौती थपिएको छ।’ 

झापा ५ मा यी दुई उम्मेदवार गएसँगै त्यहाँको सुरक्षा पनि बढाइएको छ। यस्तै दुवै उम्मेदवारको सुरक्षामा पनि थप प्रहरी खटाइएको सुरक्षा स्रोतले बताएको छ। दुवै उम्मेदवारलाई अगुवा–पछुवा गाडीसहित प्रहरी खटाइएको छ। 

सूचना संकलनका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ। 

झापा ५ कै लागि कोसी प्रदेश प्रहरी कार्यालयबाट एक सयभन्दा बढी सुरक्षाकर्मी पठाइएको सुरक्षा स्रोतले बताएको छ। यस्तै सशस्त्र प्रहरीको फोर्स पनि झापा ५ केन्द्रित भएको छ। 

सशस्त्र प्रहरीले त्यहाँ रहेको गण र आवश्यक परे शिक्षालयको जनशक्ति समेत परिचालन गर्ने तयारी छ। यस्तै चुनाव नजिकिँदै जाँदा नेपाली सेना पनि परिचालनको तयारी भएको छ। चुनावको एक महिनापहिले माघ २१ गतेबाट नेपाली सेना फिल्डमा उत्रने तयारीमा छ। 

अहिले सेनाले हरेक स्थानको सुरक्षा विश्लेषण गर्दै आफ्नो परिचालनको योजना बनाइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad