भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछिल्लो भाग अफ-ट्रयाकमा परेकाले १ हजार ५ सय मिटरको रनवे घटाएर हाल १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ।
उनले भने, ‘जहाजको पछाडिको भाग अफ-ट्रयाकमा परेकाले रनवे अलिकति छोट्याएर विमानस्थल सञ्चालन गरेका छौँ। अहिले प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनका लागि पर्याप्त छ र यसबारे सबै पाइलटलाई नियमित रूपमा जानकारी दिइँदै आएको छ।’
दुर्घटनाको कारणबारे यकिन भइनसकेको बताउँदै उहाँले मौसम सफा रहेकाले मौसमका कारण नभई प्राविधिक कारण हुनसक्ने उल्लेख गरे। ‘दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्छ,’ उनले भने।
काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका एटीआर-७२ जहाज शुक्रबार राति ९ बजेर १० मिनेटमा अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो। जहाजमा ५१ यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए।
दुर्घटनामा को-पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन्। को-पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ भने अन्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको छ।
Shares

प्रतिक्रिया