आज (सोमबार) पनि देशैभरका केही स्थानमा हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसस पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार देशभरका ‘कही स्थान’ भन्नाले पहाड-तराई दुवै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको र त्यो प्रणाली पूर्व सर्ने क्रममा छ।
‘त्यसकारण मध्य क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना बढ्दै गएको छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने देखिए पनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने त्यसअगाडि नै वर्षा हुने देखिन्छ।’
साथै यो प्रिमनसुनको सिजन भएकाले साथमा हावाहुरी र चट्याङको पनि सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा पनि प्रवेश गरिरहेको छ।
यसैकारण यहाँ हावाहुरीसहित वर्षा भइरहेको हो। नेपालमा केही दिनयता नै यस्तो भइरहेको छ।

प्रतिक्रिया