समाज


बालक छोराको यो प्रश्नले जानतीका आँखाबाट बग्छन् आँसुका बलिन्द्र धारा

बालक छोराको यो प्रश्नले जानतीका आँखाबाट बग्छन् आँसुका बलिन्द्र धारा

सुरेन्द्र भण्डारी/रासस
मंसिर १७, २०८२ बुधबार ६:२७, सुरुङ्गा (झापा)

झापाको अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका थिए। परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले सम्झनामा मात्र छन्।

गत भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनले तीन दिनको उपचारपछि भदौ २७ गते बीएन्डसी अस्पतालमा प्राण त्यागे।

दिनेशको परिवारमा अहिले पनि त्यो दिन सम्झँदा आँसुका धारा रोकिँदैनन्। ३० वर्षीया श्रीमती जानती, ५५ वर्षीया आमा सपना, ६ वर्षीय छोरा रिदम र १३ महिनाकी छोरी दिपीका सबै दिनेशकै भरमा थिए।

बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेपछि घरको आधार दिनेश नै थिए।

दुई वर्ष कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका उनले स्वदेश फर्किएपछि केही उद्यम गरेर परिवारलाई आर्थिक स्थायित्व दिने सपना बोकेका थिए।

रोजगारीको खोजीमा कतार पुगेका दिनेशले अब आफ्नो देशमा केही गर्छु, छोराछोरीलाई राम्रो पढाउँछु भन्ने सोच बोकेर घर फर्किएका थिए।

यही सोचले उनले शनिश्चरेमा मासु पसल सुरु गरे। श्रीमती जानती पनि दैनिक ज्याला मजदुरी गर्थिन्।

श्रीमान्–श्रीमतीको संयुक्त मिहेनतले परिवार चलिरहेको थियो। तर, जेनजी आन्दोलनले दिनेशको परिवारको गति नै मोडिदियो।

‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानी केटाकेटीलाई खुवाएर तिमी पनि खाना खानु है’ उनले आफूसँग बोलेको अन्तिम शब्द यही हो भन्दै भक्कानिन्छिन् जानती।

भन्छिन्, ‘श्रीमान्‌को निधनसँगै मेरो सिउँदो त उजाडियो नै, छोराछोरीसमेत टुहुरा भए, अनि घर नै भताभुङ्ग भयो।’

‘ममी, बाबालाई कसले गोली हान्यो होला? नहान्दा पनि हुन्थ्यो नि?’

छोराको यो प्रश्नले जानतीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन्।

मोबाइलमा कहिलेकाहीँ आन्दोलनको भिडिओ हेरेर छोरा रिदमले भन्छ, ‘ममी, कति मान्छे त बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए हामी बाबासँगै बोल्थ्यौँ अनि खेल्थ्यौँ नि।’

जानती भन्छिन्, ‘म आमा हुँ। उसको मन कति चिरिन्छ होला- शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ।’

भर्खर १३ महिनाकी छोरी दिपीकाको भर्खर बोली फुट्दै छ। जानती सुनाउँछिन्, ‘कहिलेकाहीँ छोरीले ‘बाबा’ भन्छिन्, छोरीको त्यो आवाज सुन्दा मुटु नै फुट्लाजस्तो हुन्छ।’

दिनेशकी आमा सपना अझै पनि निस्तब्ध छिन्। 

‘कान्छालाई दशाले बिर्तामोड पुर्‍यायो। छरछिमेकमा सानोतिनो झैझगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो’, उनले भनिन्, ‘अब कान्छो फर्किंदैन थाहा छ, तर पनि बाटामा कोही अरू नै हिँडे कान्छाकै झल्को आउँछ।’

अहिले दिनेशको निधनपछि परिवारको सबै आधार सुस्ताएको छ। दिनेशको निधन हुँदा दाजु गोवर्द्धन विदेशमै थिए।

भाइको मृत्युको खबर सुनेर रातारात उनी स्वदेश फर्किए।

भाइको काजकिरिया उनैले गरे। 

‘मुलुकका लागि भाइले प्राण त्याग्यो’, दाजु गोवर्द्धनले भने, ‘अब राज्यले कम्तीमा दिनेशका छोराछोरीलाई राम्रो शिक्षा पाउने व्यवस्था गरिदिनुपर्छ।’

भाइको काजकिरिया सकेलगत्तै उनी अहिले विदेश फर्किए।

दाजु पनि विदेशिएपछि राजवंशी परिवारमा थप सन्नाटा छाएको छ।

दिनेशको निधनपछि राज्यले दिनेशलाई सहिद घोषणा गर्‍यो। सहिदको परिवारलाई प्रदान गरिने रु १५ लाख उपलब्ध गरायो।

स्थानीय संस्थाहरूले पनि थप केही आर्थिक सहयोग रकम प्रदान गरे।

अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि घरै गएर छोराछोरीलाई कक्षा १२ सम्म पढाइ दिने वचन छन्। जानतीको मनमा शान्ति पटक्कै छैन।

उनी भन्छिन्, ‘पैसाले मात्र के हुँदोरहेछ र मान्छे नै नरहेपछि।’

अब राज्यले सहिदको परिवारलाई रोजगारीसहितको दीर्घकालीन व्यवस्था गरिदिओस् भन्ने आग्रह उनको छ।

‘छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ’, उनी भन्छिन्, ‘परिवारलाई आत्मनिर्भर हुने रोजगारी उपलब्ध गरियोस्।’

दिनेशको निधनसँगै जानतीलाई जिम्मेवारी थपिएको छ।

‘मासु पसल अहिले बन्द छ, पसल बन्द भएपछि आयस्रोत पनि बन्द छ’, उनले भनिन्, ‘ठेक्कामा धान खेती गरेका छौँ। अहिले धान थन्क्याउन हामीलाई समस्या छ। घर हेर्नु कि नानीको हेरचाह गर्नु कि, धान थन्क्याउनु समस्याले एकै पटक गाँज्यो।’

ससाना छोराछोरी, सासूआमाको हेरचाहसँगै व्यवहार गर्न अहिले उनलाई मुस्किल परेको छ।

उनी भन्छिन्, ‘आफ्नो जमिनमा फलेको अन्नले मात्र खान पुग्दैन, ठेक्कामा धान खेत गरेका थियौँ, अहिले त्यही अर्मपर्म गरेर बाली उठाउँदै छु।’

श्रीमान्‌को मृत्युपछि छिमेकीहरूको सद्‌भाव र आफन्तको साथले सम्हालिन खोज्दैछिन् जानती।

भन्छिन्, ‘छिमेकीहरु आउनुहुन्छ, मलाई सम्झाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ: राम्रो मान्छेको आयु लामो हुँदैन भन्छन्। दिनेश पनि राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ पीर नगर्नू।’

छिमेकीका सान्त्वनाले पीडा कम गर्न खोजे पनि मन बुझाउन निकै गाह्रो भइरहको जानती बताउँछिन्। 

जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली पेटमा लागेर ढलेका दिनेशका सपना जेनजी आन्दोलनको भिडसँगै बिलाए। तर उनका छोराछोरी र परिवार अझै पनि भविष्यको उज्यालो खोजिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad