समाज


आउँदो फागुनमा बिहे गर्ने विचारमा थिए अर्जुन

आउँदो फागुनमा बिहे गर्ने विचारमा थिए अर्जुन

बुनु थारु\रासस
मंसिर ११, २०८२ बिहिबार १२:५३, काठमाडौँ

कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ। थोरै अघि बढेपछि एउटा सानो होटल देखिन्छ।

शनिबार बिहान १० बजेतिर केही ग्राहक त्यहाँ बसेर चियाको चुस्की लिइरहेका थिए। गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुईवटा टेबल र चार वटा बेन्च छन्। एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कातिर प्रेसरकुकरमा खानाको सिटी लाग्दै छ।

होटलमा व्यस्त छिन्- जानुका भट्ट। भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुईवटा फ्रेममा। उनी हुन- २८ वर्षीय अर्जुन भट्ट। जेनजी आन्दोलनका सहिद।

वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो। दुबईको अत्यधिक गर्मी र कामको चापका कारण टिक्न नसकेपछि गत असारमा मात्र फर्किएका थिए। 

दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो- असार १७ गते। साथीभाइलाई बोलाएर भव्य रूपमा जन्मदिन मनाए।

हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारा थिए। 

‘सबै उमेर समूहसँग उहाँ चाँडै घुलमिल हुन्थ्यो। साथीहरू पनि धेरै थिए उसका,’ आमा जानुका भन्छिन्। 

करिब सात वर्षअघि जन्मदिनमा साथीहरू मिलेर उपहारस्वरूप खैरो कुकुर अर्जुनलाई दिएका थिए। उसको नाम अर्जुनले नै राखेका थिए- लिची। अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो। खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गर्थ्यो। 

अहिले लिची पनि उदासझैँ देखिन्छ। उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन्। 

बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ। लाग्छ- यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ। स्नातकसम्म पढेका अर्जुनले पढाइलाई निरन्तरता दिन सकेनन्। न त यहाँ भनेजस्तो रोजगारी नै पाए।

उनका दाइ अभिलाख देशमै छन् भने दिदी विवाहपछि श्रीमान्‌सँग जापानमै बस्छिन्। 

दिदीले भनेकी थिइन्, ‘दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नू र आउनू।’

दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित भए। 

अनि जापानी भाषा सिके र भाषा परीक्षामा उत्तीर्ण पनि भए।

परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने सोचमा पनि थिए। 

२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार

अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका-४, फुजेल हो।

गाउँमा भट्ट परिवारको खेतीपाती थियो। बस्तुभाउ थिए। छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका भट्ट परिवारलाई नपुग्दो केही थिएन। तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन् बुबा चित्रबहादुर।

‘आफू हुर्केको गाउँ छाडेर विरानो सहर छिर्न मन त थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ,’ उनी भन्छन्।

विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिरेका चित्रबहादुरले आर्थिक उपार्जनका लागि केके गरेनन्। 

तरकारी बेचे, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे, पछि होटल व्यवसाय सुरु गरे। 

आजभन्दा २५ वर्षअगाडि सपनाको सहर छिरेको भट्ट परिवारका सुरुवाती दिन निकै सकसपूर्ण थिए, जतिबेला अर्जुन मात्र ३ वर्षका थिए।

कालीमाटीबाट आएको त्यो खबर

जेनजीहरूले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गरेका थिए।

‘२८ वर्ष उमेरसम्मका युवाहरूको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ’ भनेर उनले पटकपटक भनेका थिए।

गत भदौ २३ गते बिहानै उनी घरमा बुबाआमालाई भनेरै साथीहरूसँग आन्दोलनमा सरिक भएका थिए। 

राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो।

बेलुकासम्म काठमाडौँमा मात्रै २१ जना मारिएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनका साथी पनि थिए। 

ठूलो सङ्ख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो। आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन भए। 

त्यसपछि उनले भोलिपल्ट कीर्तिपुरका साथीहरू भेला भएर आन्दोलनमा जाने निर्णय गरे। 

आमा जानुकाले पटकपटक ‘नजा बाबु’ भनेर रोक्न खोजेकी थिइन्। 

तर किशोर वयको उर्लिँदो जोसलाई कसले रोक्न सक्ने? उनी साथीसँग कीर्तिपुर हिँडे। 

‘एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो,’ जानुका सुनाउँछिन्। 

अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कर्फ्यु लगाइएकाले सर्वत्र सन्त्रास थियो। अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा जानुकाले हेरिरहेकी थिइन्। 

काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरूसँग अघि बढिरहेका थिए।

टोलीमा उनका दाइ अभिलाख पनि थिए।

अर्जुन भदौ २४ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो। त्यसको एक घण्टापछि नै घरमा फोन आयो- नमिठो र अपत्यारिलो खबरका साथ। 

‘कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो’ भन्ने सुन्नासाथ जानुकाको शरीर चिसो भएर आयो।

अर्धबेहोस अवस्थामै उनी अस्पताल जान खोजिन्। तर कर्फ्युका कारण गाडी चलेका थिएनन्।

छोराको साथीले स्कुटीमा राखेर उनलाई बल्खुस्थित बयोधा अस्पताल पुर्‍याए। 

अस्पतालमा भिड थियो। उनलाई आफ्नै छोरा पनि हेर्न दिइएन।

‘म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ’, रसिलो आँखा बनाउँदै अभिलाखले सुनाए, ‘एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ। सँगै गएको भाइलाई गुमाउनुपर्‍यो।’

अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ।

‘दाजुभाइभन्दा पनि धेरै साथीजस्तो थियौँ,’ उनी सम्झिन्छन्, ‘सँगै गेम खेल्ने, सँगै सुत्ने गर्थ्यौँ।’

भिडिओ गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे। अभिलाखलाई त्यही सम्झना बढी आउँछ।

‘यही घरको भर्‍याङमा हामी दुवै जना बसेर पब्जी खेल्थ्यौँ’, भर्‍यायाङतिर देखाउँदै उनी भन्छन्। 

आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ।

‘गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो,’ उनी भन्छन्, ‘कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ।’

दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे। अहिले पनि जानुकालाई यही याद आइरहन्छ।

‘मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ। राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ,’ उनी भन्छिन्,  ‘जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको। कहिले पो बिर्सन सक्छु र!’

जानुका अर्को समस्याबाट पनि गुज्रिरहेकी छन्। 

गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन्। निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उहाँको विचार छ।

‘तर पालो आउनै समय लाग्ने रहेछ। समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ,’ उनी सुनाउँछिन्। 

परिवारमा रिक्तता अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए। 

जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ। सरकारले जेनजी सहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आश भने उनलाई लागेको छ। 

सरकारले क्षतिपूर्ति र राहतस्वरूप परिवारलाई रु १५ लाख दिएको छ। अर्जुनको नाम सहिदको सूचीमा चढेको छ।

तर त्यसले बुबा-आमाको रित्तिएको काख भरिँदैन। 

‘मेरो छोरो १५ लाखको थियो त’, जानुका मलिन आवाजमा बोल्छिन्, ‘१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि!’

बुबा चित्रबहादुरको चाहना छ- छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस्। उनीहरूको बलिदान खेर नजाओस्। देश बस्नलायक बनोस्। सबैले रोजगारी पाऊन्। कलिलैमा कसैले विदेश जानु नपरोस्।

भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन।

बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ। राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad