काठमाडौँ प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ।
परिसरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए।
उनका अनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा ४९ जनाको मृत्यु दर्ता भएको छ। मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उनले पहिचानका लागि डीएनए परीक्षणका लागि पठाइएको बताए।
उनले भने,‘भदौ २३ र २४ मा भएको मानवीय क्षतिका सम्बन्धमा काठमाडौं जिल्लाभित्र ४९ वटा मृत्युका घटना दर्ता भएका छन्। जसमध्ये हालसम्म पनि पहिचान नखुलेको संख्या ७ रहेको छ। उनीहरुको पहिचानको लागि डिएनए परिक्षणका लागि पठाइएको र अझै केही समय लाग्नेछ।’
एसपी भट्टराईले ७ वटा उजुरीहरू तामेलीमा राखिएको पनि उल्लेख गरे। उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको जानकारी दिए। उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए।
उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ। तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ।
न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन्। पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उनले जानकारी दिए।
उनले जेन–जी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए। पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ। उनले बाँकी १५ जना थुनुवाहरू समेत आफूहरूको सम्पर्कमा रहेको जानकारी दिए।
Shares

प्रतिक्रिया