समाज


जेनजी आन्दोलन: छोरीलाई उच्च शिक्षा पढाउने गौतम परिवारको सपना अधुरै

जेनजी आन्दोलन: छोरीलाई उच्च शिक्षा पढाउने गौतम परिवारको सपना अधुरै

नेपालखबर
मंसिर ६, २०८२ शनिबार ८:५, चितवन

निखिता गौतमका बुबा लोकनाथ गौतम चितवनबाट काठमाडौँमा डेरा सरे। एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै थिए। त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा थिए। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले न निखिताको विदेश पढ्ने रहर पूरा हुन पायो, न त बुबाआमाको यहीँ राखेर पढाउने सपना साकार हुन नै पायो। आन्दोलनको दोस्रो दिन आफू बस्ने घरको छतबाट आन्दोलन नियालिरहेकी निखिताको त्यहीँ नै अन्तिम दिन बन्न पुग्यो। छतमा नै गोली लागेर घाइते भएकी उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। 

काभ्रेबाट चितवनको कालिका नगरपालिका–८ मा स्थायी ठेगाना भएको गौतम परिवार धेरै वर्षदेखि काठमार्डौँ गएको थियो। त्यसो त चितवन फर्किने तयारीमा यहाँ घर निर्माण पनि भइरहेको छ। 

निखिताको अप्रत्याशित निधनले काठमाडौँ महानगरपालिका–९ गौशालामा बस्दै आएको उनको परिवारको योजना अहिले लथालिङ्ग बनेको छ। राजधानीमा फर्निचरको काम गर्दै आएका लोकनाथ अब पेसा छाडेर चितवन फर्किने तयारीमा छन। उनले भने, ‘छोरीलाई यही उच्च शिक्षा पढाउने हाम्रो सपना अधुरै रह्यो।’

निखिताले भर्खरै जेभियर कलेजबाट व्यवस्थापनमा कम्प्युटर साइन्समा १२ कक्षा उत्तीर्ण गरेकी थिइन्। उनका दाइ डेनमार्कमा छन् । स्नातक पढ्न वा स्नातक अध्ययन सकेर दाजुसँगै डेनमार्क जाने सपना उनले देखेकी थिइन् । परिवार उनलाई स्नातक यहीँ पढाउन चाहन्थ्यो । छोरी निखिता देशको अवस्था देखेर चिन्तित हुने गरेको लोकनाथले सुनाए। 

बुबा लोकनाथले भने, ‘नानी र हामी सबैको चाहना कसैमाथि अन्याय र अत्याचार नहोस् र सु–शासन होस् भन्ने हो। हाम्रो ठूलो सपना केही छैन, देशमा भएको आन्दोलनका उपलब्धिहरु संस्थागत भएर जनताले सुख पाऊन्।’ 

सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण हुन सकेमा सहिदहरुको सपना पूरा हुने उनको भनाइ छ। आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने र गोली चलाउनेलाई छानबिन गरी कारबाही भएमा बल्ल निखिताको आत्मले शान्ति पाउने उनको भनाइ छ । देश परिवर्तनका लागि सहिद भएकाहरुको सपना साकार पार्नका लागि सबै शक्ति एक भएर लाग्नुपर्ने उनले बताए। 

सन्तानको मृत्यु आमाका लागि झनै पीडादायी हुने गर्छ । छोरी निखिताको मृत्युपछि आमा कल्पना गौतमलाई निकै पीडा थपिएको छ। उनले भनिन्, ‘एउटा छोरा विदेशमा छ, छोरीलाई यही राखेर पढाउने र बुढेसकालको सहारा बनाउने योजना हाम्रो थियो। अब यो कुरा हरायो।’

कालिका नगरपालिका–२ मा बन्दै गरेको नयाँ घरमा आएर स्नातक पढ्ने योजनामा रहेकी निखिता अस्ताएपछि त्यो घर खाली रहनेछ । बुबाआमाको काख रित्तियो, हातले काम गरेर खानुपर्ने मान्छे आज अपाङ्ग सरह पर्यो-आमाले गुनासो गरिन्। 

निखितासँगै कक्षा ११ र १२ अध्ययन गरेकी कृश्चला घिमिरेले आफू, निखिता र साइरा तामाङले आफूहरु एउटै बेञ्चमा बसेर पढ्ने गरेको बताइन्। घटना सुन्नेबित्तिकै पत्यार नलागेर फोन गर्दा एक जना काकीले ‘निखितालाई गोली लागेर अस्पताल लगेको’ सुनाएको स्मरण गरिन्। 

चितवनमै  रहेका लिखिताका ठूलो बुबा खड्ग गौतमका अनुसार गौतम परिवार २०५४ सालमा काभ्रेबाट चितवन आएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad