सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधार मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेको जनाइएको छ। गत १० मङ्सिरदेखि सुरु भएको मतदाता नामावली दर्ता म्याद कात्तिक मसान्तसम्म तोकिए पनि मतदान प्रक्रियामा कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कात्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा लक्ष्मी अधिकारीका अनुसार यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएकामध्ये अधिकांश युवा पुस्ताका मतदाता रहेको जानकारी दिए। मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आज साँझसम्म म्याद तोकेको थियो।
सरकारले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएको भए पनि अधिकांश मतदाता कार्यालयमा उपस्थित भई मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी नायब सुब्बा अधिकारीले बनाए। मतदाता नामावली दर्ता सुरु भएदेखि थपिएको ५ दिनको म्याद सकिदा २६६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले उल्लेख गरेको छ।
जसमध्ये नागरिकताको प्रमाणपत्रको आधारमा अनलाइन मतदाता नामावली दर्ता, फोटो र बायोमेट्रिक विवरण पेस गरी नाम दर्ता गर्ने ७८ जना पुरुष र ६४ जना महिला मतदाता रहेका छन्। राष्ट्रिय परिचयपत्रबाट अनलाइन मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेका छन्। राष्ट्रिय परिचयपत्रबाट पुरुष र महिलाको सङ्ख्या निकाल्न कार्यालयबाट नसकिने जनाइएको छ।
जिल्ला बाहिरका ४१ जना मतदाताले कार्यालयबाट मतदाता नामावली दर्ता गराएका सूचना अधिकारी लक्ष्मी अधिकारीले उल्लेख गरे। उनका अनुसार जिल्लाबाहिर २८ जना पुरुष र १३ जना महिलाले कार्यालयमा उपस्थित भएर मतदाता नामावली दर्ता गराएको उनको भनाइ छ।
यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यहाँको कूल मतदाता १० हजार ४८५ जना रहेका थिए। योसँगै निर्वाचन आयोगमा मतदाता नामावली अद्यावधिकपछि मुस्ताङको कूल मतदाता १० हजार ७५१ जना पुग्नेछ।
विसं २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा घरपझोङमा दुई हजार ३१४ जना, थासाङमा दुई हजार ८१७ जना, लोघेकर दामोदरकुण्डमा एक हजार ५३३ जना, वारागुङ मुक्ति क्षेत्रमा दुई हजार २८५ जना र लोमान्थाङ गाउँपालिकामा दुई हजार आठ जना मतदाता रहेका थिए। रासस
Shares

प्रतिक्रिया