समाज


‘हाइब्रिड’ले निम्तिदै छ सङ्कट

‘हाइब्रिड’ले निम्तिदै छ सङ्कट

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:२, गुल्मी

इस्मा गाउँपालिका-६ स्थित घिमिरे कृषि तथा पशुपक्षी फर्मले गतवर्ष पाँच टन अरूण-२ जातको मकैको बीउ उत्पादन गर्‍यो। किसानले भारतीय उन्नत जातको (हाइब्रिड) बीउ रोप्न थालेपछि २५ क्वीन्टल बीउ बिकेन। बीउ बिक्री गरी मनग्गे कमाउने सोचेका फर्म सञ्चालक कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन्। 

'किसानलाई स्थानीय माटोमा उत्पादन भएको मकैको बीउ उपलब्ध गराउने उद्देश्यले बीउ उत्पादनमा लागेको थिएँ, तर अहिले किसानले हाइब्रिड बीउमा पल्केर स्थानीय जातको मकैको बीउमा रूचि राख्दैनन्', घिमिरेले भने, 'नबिकेको बीउ खाद्यान्नको लागि सस्तो मूल्यमा बेच्न बाध्य भएँ।' उनले गाउँका रैथाने उन्नत बीउ मासिएपछि कुनै कारण आयातित बीउ रोकिए खेतबारी बाँझो रहने चिन्ता व्यक्त गरे। 

मदाने गाउँपालिका-६ स्थित पुर्कोट उद्यम कृषि सहकारी संस्थाले मनकामना-३ र देउती मकैको बीउ उत्पादन गर्दै आएको छ। यो वर्ष सहकारीले मनकामना-३ र देउती जातको मकैको ४० क्विन्टल बीउ बिक्री गर्न सकेन। सहकारी संस्था अध्यक्ष लोकहरी कुवँर भन्छन्, 'भारतीय हाइब्रिड बीउले रैथाने जातको बीउ किसानले किन्न छाडेपछि बीउ बिक्न छाड्यो। बीउ बिक्री नहुँदा चार लाख घाटा लाग्यो।'

विभिन्न सहकारी संस्थाको तथ्याङ्कअनुसार गुल्मीमा ६५ क्विन्टल बीउले बजार पाएन। यहाँ अरुण-२, मनकामना-३ र देउती मकैको बीउ उत्पादन हुँदै आएको छ। धेरै उत्पादन हुने लोभमा किसानले हाइब्रिड बीउ रोप्न थालेपछि रैथाने बीउ संकटमा परेको छ। केही वर्ष अघिसम्म स्थानीय जातको मकैको बीउ खोज्ने किसानको अहिले हाइब्रिड बीउमा रूचि छ।

पछिल्लो समय स्थानीय तहहरुले किसानलाई रैथाने र उन्नत जातका असल बीउ खोजेर रोप्न प्रोत्साहन गरिरहेका छन्। पहिले पहिले गाउँघरमा घैटामा, धन्सारमा खरानीभित्र जोगाएर बीउ राख्ने चलन थियो। बीउ जोगाउने पहिलेको चलन अहिले हराएको छ। अहिले हाइब्रिड बीउबाट उत्पादन भएको खाद्यान्न बीउको रूपमा राख्न नसकिने किसानको भनाइ छ।

सत्यवती गाउँपालिकाका कृषि अधिकृत उपकार भण्डारीका अनुसार गाउँपालिकाले धान, मकैको उन्नत बीउ र चार प्रकारका कोदो, फापर र जुनेलोलगायतका रैथाने बालीका बीउ निःशुल्क वितरण गरिरहेको छ।

पहाडी बाली अनुसन्धान केन्द्रबाट मूल बीउ ल्याएर किसानलाई मौसमअनुसार वितरण गर्ने गरिएको छ। रैथाने बाली कम फल्ने र ढल्ने भएका कारण किसान हाइब्रिडतिर आकर्षित भएको कृषि शाखा प्रमुख भण्डारी बताउँछन्। बालीरोग विशेषज्ञ प्रकाश मरासिनीको भनाइमा हाइब्रिड बीउ धेरै फले पनि स्वादका हिसाबले खान मीठो हुँदैन। हाइब्रिडमा नयाँ रोग आउँछन्। धानमा पोके र मकैमा ओइलाउने, कुहिने र जलवायुको जोखिम रहेको छ। उनले सरकारी निकायले उन्नत बीउ पर्याप्त दिन नसकेका कारण हाइब्रिड धेरै मात्रामा भित्रिएको बताए। उनी सरकारी निकायबाट हाइब्रिड बीउलाई प्रोत्साहन गर्न नहुने बताउँछन्।

व्यापारीले हाइब्रिड बीउलाई प्रोत्साहन गरिरहेका छन् तर सरकारी निकायले नियन्त्रण गर्न ध्यान दिइरहेका छैनन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले रैथाने बाली प्रवद्र्धनअन्तर्गत धुर्कोट र इस्मामा काम गरेको र यान्त्रीकरणमा सहयोग गरेको बताए। चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ।

गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ। वर्षे मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ। जिल्लामा वर्षे मकै ७१ हजार २०५ मेट्रिकटन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। पछिल्लो समय किसानले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन्।

गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो। उन्नततर्फ अरुण-२, मनकामना-३ र देउती जातको मकै धेरै लगाइन्छ। यो जिल्लामै उत्पादन हुने मकै हो। कृषि ज्ञान केन्द्रका अधिकारीका अनुसार करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात सिपी र जेके मकै धेरै लगाउने गरेका छन्। किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन्। 

खाद्य संकटको जोखिम

उच्च पहाडी क्षेत्रमा कृषि उत्पादन कम हुने र मौसम परिवर्तनको असर बढी पर्ने भएकाले खाद्य सुरक्षा समस्या हुने गरेको छ। मौसमको उतारचढाव, बाढी र सुख्खाजस्ता प्राकृतिक प्रकोपले खेतीको उत्पादनलाई प्रभावित पार्ने भएकाले खाद्य संकट निम्त्याउने जोखिम छ।

अहिलैकै अवस्थामा कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क हेर्दा मध्य साउनसम्म कतिपय फाँटहमा रोपाइँ हुन सकेन। यसले गर्दा किसानको बीउ बुढो भएकाले स्वभाविक रुपमा कम धान फल्ने आँकलन कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ।

गुल्मीका धेरै गाउँमा उच्च गरिबी र सीमित स्रोतका कारण पोषणयुक्त खानेकुराको अभाव छ। बिहान बेलुकाको छाक टार्न समस्या नभए पनि सन्तुलित रुपमा खाना खाने परिवारको सङ्ख्या कम रहेको छ। पोषणयुक्त खाना नपाएमा बालबालिका र वृद्धहरुको स्वास्थ्यमा असर पुर्‍याउने गर्दछ।

कृषि उत्पादनबाट प्राप्त हुने आहारले सामान्यतयाः प्रोटिन र अन्य पोषणका आवश्यक तत्व पुर्‍याउन नसक्ने भएकाले थप आहार व्यवस्थापन गर्न गरिब परिवारमा समस्या रहेको छ। 

गुल्मी जिल्लाका सबै गाउँमा बाह्रैमास सडक सञ्चालनको सम्भावना छैन। वर्षात्को बेला लामो समय सडक अवरुद्ध हुँदा बजारबाट गाउँसम्म खाद्य आपूर्ति ढिला पुग्ने वा महँगो हुने समस्याले खाद्य सुरक्षा संकट देखिने गरेको छ। विसं २०७६ मा सत्यवती गाउँपालिका-२, ३ र ४ मा गएको भिषण पहिरोका कारण बन्द भएका सडकका कारण पहिरो प्रभावित क्षेत्रमा झण्डै खाद्य संकट निम्तिएको थियो। विस्थापित ३०० परिवारलाई नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्य व्यवस्थापनको काम गरिएको थियो। 

मालिका गाउँपालिका- १, २ र ३ जिल्लाका विकट गाउँ हुन् । वर्षात्मा गाडी नियमित सञ्चालन हुने सम्भावना छैन्। यसले गर्दा प्रत्येक सामग्रीमा पाँचदेखि १५ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीले सामान बिक्री गर्ने गरेको स्थानीय अगुवा रवीन्द्र विश्वकर्माले बताए। व्यक्तिका व्यावसायिक पसलबाट बिक्री वितरण हुने खाद्य सामग्रीलाई जिल्लामा केही सहकारीले सुपथ मूल्य पसल सञ्चालन गरेर सहजीकरण पनि गर्दै आएका छन्।

जिल्लामा दुई वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बिक्री वितरणको काम गर्दै आएको छ। जिल्लामा सदरमुकाम तम्घास र बाहिर मालिका, रुरुक्षेत्र र मदानेमा कम्पनीले डिपो स्थापना गरेको छ। अहिलेसम्म दुई करोडभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखाले जनाएको छ। तम्घासमा २०८० पुस १ गते यस कम्पनीको शाखा स्थापनासँगै तीन स्थानमा खरिदबिक्री केन्द्रसमेत सञ्चालन गरिएको थियो। 

जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्ने उद्देश्यसहित शाखाको स्थापना भएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका शाखा प्रमुख लक्ष्मी भण्डारीका अनुसार लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट एक हजार ९७६ क्विन्टल चामल ल्याइएको थियो।

गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ। पहाडी जिल्लामा ठूला उद्योग कलकारखाना नभएका कारण कृषि र पर्यटन नै समृद्धिका मुख्य आधार हुन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा रु साढे चार अर्बको पशु र सवा अर्ब बराबरको कृषिजन्य उत्पादन भएको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङकअनुसार आव २०८१\८२ मा मासु, दूध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजारको पशुजन्य उत्पादन भएको छ। त्यसमध्ये एक अर्ब ८४ करोड ३८ लाख १५ हजारको दूध मात्रै उत्पादन भएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए।  

दूध र माछा मासुको उत्पादन अवस्था

गतवर्षको तुलनामा यो वर्ष जिल्लामा २.५१ प्रतिशत दूध उत्पादन वृद्धि भएको छ। अहिले जिल्ला बाहिर प्रत्येक दिन एक हजार ५०० लिटर दूध निर्यात हुने गरेको छ। सत्यवती, रुरु क्षेत्रका फर्महरुबाट बढी दूध बिक्री हुने गर्दछ।

गुल्मीमा राँगो, खसी बोका, कुखुरा, सुङ्गुर र बुङ्गुर तथा भेँडाको दुई अर्ब ५८ लाख २३ लाख चार हजार बराबरको मासु उत्पादन हुने गरेको पाण्डेयले बताए। त्यस्तै जिल्लामा १९ करोड ४१ लाख ७५ हजारबराबरको अण्डा उत्पादन हुने गरेको उनले बताए। 

त्यस्तै जिल्लामा एक अर्ब १५ करोड ७२ लाख ६० बराबरको कृषि उपज उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए। तरकारीको लागि छत्रकोट, सत्यवती र रुरु क्षेत्र गाउँपालिका अब्वल छन्।

त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ। जिल्लामा उत्पादन हुने २७ करोड २३ लाख ४६ हजारको सुन्तलामध्ये १५ करोड ९२ लाखको सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ। सुन्तलाको लागि रेसुङ्गा, धुर्कोट र छत्रकोट अब्वल छन्।

कफीको जननी गुल्मीबाट अहिले दुई सय १२ मेट्रिकटन अर्थात दुई करोड एक लाख ४० हजार मूल्य बराबरको कफी उत्पादनमध्ये एक करोड ६५ लाखको जिल्ला बाहिर निर्यात भएको छ। 

सङ्घ र प्रदेश तहका नीतिसँग अनुकूल हुने गरेर स्थानीय पोषण नीति तर्जुमा गर्ने, आवश्यक स्रोतको व्यवस्थापन गर्ने, दीर्घकालीन आवधिक तथा वार्षिक कार्यक्रममा पोषणमैत्री स्थानीय शासनसम्बन्धी कार्यक्रम समावेश गर्ने, वडा तथा गाउँबस्ती पहिचान गर्ने र सोही अनुसारका क्रियाकलाप सञ्चालन गर्ने समितिको काम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार वडास्तरीय समिति पनि हुने र त्यसले पनि वडा तहबाट कार्यपालिकामा सिफारिस गर्ने काम गर्दछ। यो अभियानअन्तर्गत जिल्लाका स्थानीय तहले पूर्ण पोषणमैत्री पालिका घोषणा गर्ने योजना अघि बढाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad