समाज


विराटनगरमा यसरी भइरहेको छ ३१ कोरोना संक्रमितको उपचार

विराटनगरमा यसरी भइरहेको छ ३१ कोरोना संक्रमितको उपचार

यज्ञराज जोशी
बैशाख १६, २०७७ मंगलबार १३:१०,

विराटनगरको ‘कोसी कोभिड–१९ उपचार केन्द्र’ मा अहिले ३१ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। नेपालमा सबैभन्दा धेरै संक्रमितको उपचार भइरहेको अस्पताल यही हो।

वैशाख पहिलो साता उदयपुरको भुल्केस्थित नूरी मस्जिदमा बसेका भारतीयसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई यहाँ ल्याइएको थियो।

अहिले सो संख्या बढेर ३१ जना पुगेपछि स्वास्थ्यकर्मीहरुलाई चाप बढेको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।

‘यद्यपि हामीले राम्ररी काम गरिरहेका छौँ, बिरामीको आवश्यक उपचार गरिरहेका छौँ,’ उनले भनिन्।

सरकारले कोसी अस्पताललाई प्रदेश १ को कोरोना उपचारको हब बनाउने निर्णय गरेको थियो। तर, दैनिक सयौं बिरामीले सेवा लिने कोसी अस्पतालमै कोरोना संक्रमितको उपचार गर्दा अन्य सेवा ठप्प हुन सक्थ्यो।

त्यसैले छुट्टै कोभिड उपचार केन्द्र हुनुपर्ने भन्दै फागुनमै डा. मिश्र सक्रिय भइन्। उनले स्थानीय निकाय र प्रदेश सरकारसँग पनि सो प्रस्ताव राखिन्।

दुवै सरकारको सक्रियतामा चैत २१ गते विराटनगर १० स्थित पुरानो नेसनल ट्रेडिङको भवनमा छुट्टै कोसी कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आयो। अहिले संक्रमितहरुको उपचार यहीँ भइरहेको छ।

‘यो (कोसी) सरकारी अस्पताल थियो। यहाँ धेरै सेवाग्राही आउनुहुन्छ,’ मिश्रले नेपालखबरसँग भनिन्, ‘यहाँ कोभिडको बिरामी राखेपछि अरु बिरामीहरु राख्न पाउदैँनौं। त्यही कारण अर्कै अस्पताल हुनुपर्छ भन्यौँ। प्रदेश सरकारको समन्वयनमा नयाँ अस्पतालको अवधारणा आयो।’

kovid-hospital-biratnagar.jpg

५० शय्याको उपचार केन्द्रमा ५ भेन्टिलेटरसहित १० बेडको आइसीयू र त्यति नै हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) समेत छन्। अस्पतालमा ७५ जनासम्म राखेर उपचार गर्न सकिने उनले बताइन। कोभिड अस्पतालमा पनि कोसी अस्पतालकै चिकित्सकहरु खटिएका छन्। 

एक हप्ताका लागि २६ जना स्वास्थ्यकर्मीको टोलीले ६–६ घण्टा आलोपालो गर्दै संक्रमितहरुको उपचार गरिरहेको छ। एक हप्तापछि उक्त टोली क्वारन्टिनमा बस्ने र अर्को टोली अस्पतालमा खटिने कोभिड अस्पतालमा उपचारको नेतृत्व गरिरहेका डा. दीपक सिग्देलले बताए।

‘सिफ्ट परिवर्तन हुनेहरु घर जान पाइँदैन। हाेटलमै बस्ने हो,’ डा. सिग्देलले भने, ‘७ दिनपछि उहाँहरु १४ दिने क्वारन्टिनमा बस्नुहुन्छ।  संक्रमितको उपचारमा अर्को टोली आउँछ। क्वारन्टिन अवधि पूरा गरेकाको स्वास्थ्य परिक्षण भएपछि पुनः अस्पताल फर्कन्छन्।’

कोसी अस्पालको जनशक्ति बाँडिएपछि जनशक्ति अभाव हुने देखेर प्रदेश सरकारले सो अस्पतालमा ८ जना नयाँ मेडिकल अफिसर पठाएको छ। उनीहरुलाई दोस्रो चरणमा आवश्यक परामर्शसहित संक्रमितको उपचारमा खटाइने अस्पतालले जनाएको छ।

कोभिड–१९ उपचार केन्द्र दुई तले छ। तल्लो तल्लामा सामान्य बिरामी र माथिल्लो तल्लामा अक्सिजन तथा लाइफ सपोर्ट आवश्यक पर्ने बिरामीहरुको उपचार गर्ने व्यवस्था मिलाइएको छ।

dr-dipak-sigdel_1.pngडा. दीपक सिग्देल

अस्पतालमा अहिले रहेकाहरुमा कुनै लक्षण देखिएको छैन। उनीहरुलाई तल्लो तल्लामा राखिएको छ। त्यहाँ उनीहरुलाई सीसीटीभी क्यामेराबाट निरीक्षण गरिन्छ। कुनै सहयोग आवश्यक परे चिकित्सक सहितको टोली तत्काल पुग्छ।

‘अहिले सबै सामान्य अवस्थामा छन्। कसैलाई लक्षण देखिएको, समस्या परेको छैन,’ डा. सिग्देलले भने, ‘यदि कसैलाई अक्सिजनको आवश्यकता प¥यो वा लाइफ सपोर्ट आवश्यक प¥यो भने हामी दोस्रो तल्लामा सिफ्ट गर्छौ। त्यहाँ भेन्टिलेटर, आईसीयू तथा एचडीयूको व्यवस्था छ।’

वैशाख ५ गते एकै पटक १२ जना संक्रमित आइपुगेपछि केहीबेर चिकित्सकहरु रनभुल्लमा परेका थिए। तर, भय र त्रासका बाबजूद आफूहरु खटिनुपर्छ भनेर नै पहिलेदेखि तयार रहेको डा. सिग्देलले बताए।

‘एकैचोटी १२ जना पोजिटिभ केस आएको सुन्दा सुरुका दिनमा त सबै त्रसित थियौँ। तर, पहिलेदेखि हामी उपचारका लागि तयार हुनुपर्छ भन्नेमा थियौं,’ उनले भने, ‘स्वास्थ्यकर्मी भागेर पनि भएन। भय डर त्रासका बाबजूद पनि हामीले गर्नुपर्छ भन्नेमा हामी कन्भिन्स नै थियौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .