अध्यागमन विभागले पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराउने नेपाल ईन्भाइरोमेन्टल ट्रेक्स एन्ड एक्सपिडिसनलाई कारबाही गरेको छ।
उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि ४५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
कम्पनीले दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा ईटालीका नागरिक अन्ना मार्कोन र मासिअम कार्लन लिएर गएको थियो। ती पदयात्रुहरूलाई आपतकालीन उद्धार गर्नुपर्ने अवस्था भएपछि मात्र एजेन्सीले विभागमा अनुमतिका लागि अनुरोध गरेको थियो।
नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्छ। अध्यागमन नियमावली, २०५१ मा पदयात्रा अनुमति लिइ पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत् अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ।
विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिङ गाइड भीम प्रसाद पनेरु पदयात्रामा गएका थिए। पनेरुलाई कारबाही गर्न पर्यटन बोर्डमा समेत लेखी पठाइएको छ।
नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका विभिन्न जिल्लाका केही क्षेत्रलाइ सीमा र सुरक्षा संवेदनशीलताको कारण नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ।
Shares

प्रतिक्रिया