कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलस भुसाल भनेर चिनिने कमल भुसाललाई धरौटी लिएर वा हाजिरी जमानीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले सोमबार भुसालको तर्फबाट सुनिलप्रसाद साह कलवारले दायर गरेको बन्दीप्रत्येक्षीकरण निवेदनमा यस्तो आदेश दिएको हो।
भुसाललाई प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डवलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपुर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।
सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो।
उक्त निवेदन अनुसार बन्दीप्रत्येक्षीकरणको रिट जारी गर्न नमिल्ने भएपनि सर्वोच्चले हाजिरी जमानीमा वा धरौटीमा रिहागर्ने विकल्प बारे प्रहरीलाई भनेको हो।
‘निवेदककाविरुद्ध जरुरी पक्राउ पुर्जी जारी भई मुद्दा हेर्ने अधिकारीबाट म्याद थप समेत गराएको देखिँदा माग बमोजिम बन्दीप्रत्येक्षीकरणको आदेश जारी गर्न मिलेन’, आदेशमा भनिएको छ।
तथापि निजको साथबाट कुनै विस्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको अदालतले भनेको छ। भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको पनि अदालतको आदेशमा उल्लेख छ।
‘निज उपरको अनुसन्धान तहकीकातको विश्वासनियता र प्रभावकारीतामा असर नपर्ने गरी निजबाट धरौटी वा जमानत लिई वा निजलाई हाजिरी जमानीमा राखि अनुसन्धान तहकीकात गर्ने गराउने सम्बन्धमा उपयुक्त निर्णय गर्नु भनि विपक्षीका नाउँमा परमादेश जारी गरिएको छ’, आदेशमा उल्लेख छ।
सर्वोच्चको आदेशका सम्बन्धमा मंगलबार निर्णय गर्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। भुसाल सोमबार भने हिरासतमै छन्।
Shares

प्रतिक्रिया