समाज


के नेपालमा कोरोना भाइरस महामारीको जोखिम टरेको हो?

के नेपालमा कोरोना भाइरस महामारीको जोखिम टरेको हो?

यज्ञराज जोशी
बैशाख १५, २०७७ सोमबार १३:३३,

नेपालमा लकडाउन गरिएको एक महिना बितिसकेको छ। वैशाख २५ गतेसम्मलाई लकडाउन थप गरिएको छ।

हालसम्म ५२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १६ जना भने निको भइसकेका छन्।

आइतबारमात्रै नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो। सोमबार भने नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा कोरोनाको जोखिम कुन स्तरमा छ त? के महामारीको खतरा टरेको हो?

जनस्वास्थ्य विज्ञहरुले यसबारे मिश्रित धारणा प्रकट गरेका छन्। केहीले अझै जोखिम नटरेकाले लकडाउनलाई कडाइपूर्वक पालना गर्नु उचित हुने बताएका छन् भने केहीले खुकुलो पार्दै लैजान सुझाव दिएका छन्।

जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा संक्रमणको गति सुस्त देखिएपनि जोखिम कम भएको मान्न नसकिने बताए।

‘हिजोअस्तिसम्म पनि पोजिटिभ केसहरु देखिएका छन्,’ वन्तले नेपालखबरसँग भने, ‘नेपालमा संक्रमणको गति सुस्त रहेपनि रोकिएको छैन। त्यसैले अब १० दिन लम्बिएको लकडाउनलाई हामीले गम्भीरताका साथ पालना गरौं।’

नेपालमा माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए। त्यसको झण्डै दुई महिनापछि दोस्रो संक्रमित भेटिए। त्यसपछि फाट्टफुट्ट रुपमा संक्रमित फेला पर्ने क्रम चलिरह्यो। वैशाख लागेपछि भने संक्रमणमा ह्वात्तै वृद्धि भएको हो। आइतबारमात्रै थप ३ जना संक्रमित फेला परेपछि सरकारल लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंमै पनि आयातित केस वा तीबाट फैलिएका संक्रमित हुनसक्ने उनको अनुमान छ।

‘तुलनात्मक रुपमा काठमाडौं चलायमान सहर हो। अझै केही समय काठमाडौंभित्र आयातित केसहरु वा आयातितबाट संक्रमण फैलिएको हुनसक्छ,’ उनले भने, ‘दुई हप्ताको क्वारन्टिन यथेष्ट छैन भन्ने देखिसकेको छ। काठमाडौंमा एक–दुई हप्ता अघिसम्म केस देखिएकाले उहाँहरुबाट संक्रमण फैलिएको भए त्यो अझै देखिसक्ने बेला भइसकेको छैन। त्यसैले संक्रमित हुन सक्ने सम्भावनालाई नकार्नु हुन्नु।’

अर्का जनस्वास्थ्यविद् समीरमणि दीक्षितले केही संक्रमित अझै नदेखिएको हुनसक्ने भएपनि आयातित संक्रमण नदेखिएको अवस्थामा महामारीको जोखिम कम भएको बताए। लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने उनको भनाइ छ।

‘सुरुमै लकडाउन गरिएकाले अहिले अवस्था कन्ट्रोल गर्न सघाउ पुग्यो,’ उनले भने, ‘लकडाउन पाँच हप्ता भइसकेको र अन्तिम आयातित संक्रमित निको भएको पनि एकहप्ता भइसकेकाले अब नयाँ संक्रमित देखिने सम्भावना एकदमै कम हुन्छ। अब लकडाउन निरन्तरता दिएर त्यसले धेरै फाइदा देला जस्तो मलाई लाग्दैन।’

उनले देशैभरि एकैपटक लाकडाउन खोल्न नहुने र त्यसका लागि योजना तयार गर्नुपर्ने सुझाव पनि दिए।

‘ज्यादै भिडभाड हुने ठाउँ खोल्नु भएन। सपिङ सेन्टर, सिनेमा हल, खेलकुदका इभेन्ट, मिटिङ, कन्फेरेन्सहरु गर्न दिन भएन,’ उनले भने, ‘कति पसल खोल्ने, कहाँ कहाँ खेल्ने भन्ने कन्ट्रोल गर्दै गर्दै लकडाउन हटाउन जरुरी छ।’

कृषि, ढुवानी, कलकारखाना, उद्योग खोल्नुपर्ने तथा काममा जाने मान्छेलाई व्यवस्थित रुपमा ल्याउने लैजाने गरी यातायातका साधन समेत खोल्नुपर्ने डा. दीक्षितको सुझाव छ। खुद्रा पसलहरु पनि दिनभर खोल्न दिनुपर्ने उनले बताए।

वन्तले पनि बढी प्रभावित, आंशिक प्रभावित र संक्रमण नदेखिएका ठाँउमा छुट्टाछुट्टै रणनीति बनाएर लकडाउन खोल्ने नीति अपनाउनुपर्ने बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भने आगामी दिनमा संक्रमणको रुप कस्तो हुन्छ, सोही अनुसार लकडाउनबारे निर्णय हुने जानकारी दिए।

‘आगामी दिनमा संक्रमणले कस्तो रुप लिन्छ, हामी कसरी संक्रमण रोक्न जिम्मेवार बन्छौँ र हामीले कसरी धेरैभन्दा धेरैलाई टेस्टको दायरामा ल्याउछौं भन्ने विषयले लकडाउनको निर्धारण गर्छ,’ उनले भने, ‘अहिले रहेको दोस्रो चरणमा नै मुलुकलाई राख्न सक्यौं भने संक्रमण फैलन सम्भावना कम हुन्छ। त्यसका लागि क्वारन्टिनको पूर्ण पालना तथा नागरिकको जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .