कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभूवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ।
संघले सोमबार विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर खड्ग केसीलगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो।
संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ।
निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाडौं उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिए।
उनले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरमा ल्याएर निर्माण कार्य सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गरे। उनले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासीलाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराए।
त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताए।
उनले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गरे। निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको उनको भनाइ छ। उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई सधै सुमधुर राख्नुपर्नेमा पनि जोड दिए।
यस्तो छ उनको भनाइ छ
विद्यार्थीहरुमाथी जुन घटना भयो त्यो पनि दुखद् भयो। त्यसका प्रति म पनि दुख व्यक्त गर्न चाहन्छु। तर हाम्रो सनम महर्जनजीले जुन कुरा बाहिर ल्याउनुभएको छ। यसलाई राम्रै अनुसन्धान गर्नुपर्छ र समस्याको पहिचान चाहीँ सदाको लागि समाधान र स्थानिय र विश्वविद्यालयबीचको सुमधुर सम्बन्धको प्रस्थानबिन्दु होस् यो घटना। मलाई लाग्छ, अहिलेको शताब्दीमा रुल अफ ल अनुसार कन्ट्रक्सन हुन्छ, कसैले किताव किन्छ, कसैले कम्प्युटर किन्छ, यो रुल अफ ल खरिद ऐन छ, त्यो ऐनअनुसार नै हुन्छ, होला। यो टेण्डरमा चाहीँ के भयो डिटेल आइपुगेको छैन। तर मलाई आहात भएको हाम्रो सुरेन्द्र कर्मचार्यहरु जसले विश्वविद्यालयको नियमअनुसार टेण्डर हालेर प्राप्त गर्नुभएको छ, उहाँहरुसंग सौदाबाजी गरेको भनेर सुन्दाखेरी चाहीँ हामी कस्तो शिक्षा दिक्षा दिईरहेका छौँ। साँच्चिकै विद्यार्थीको परिचय त्यस्तै हो त। विश्वविद्यालयले त समाज परिवर्तनको रोल मोडल हुनुपर्ने हो। विश्वविद्यालय संस्कार निर्माण गर्ने थलो हो। तर हामीले कस्तो संस्कार निर्माण गरेछौँ। कस्तो पढाएछौँ त भनेर आफैलाई पनि दु:खी बनाएको छ।
Shares

प्रतिक्रिया