प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका निकोलश भुसाललाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।
सार्वजनिक शान्तिमा खलबल्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई मंगलबार काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले गोरखाको रानीवनको आश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। त्यसअघि उनले टिकटकमा लाइभ आएर आफू मृगस्थलीमा रहेको बताएका थिए।
पक्राउपछि उनलाई काठमाडौँ ल्याएर बुधबार म्याद थपका लागि प्रशासन लगिएको थियो। उनले केही दिनअघि 'आफूले चाहेमा तत्काल ड्रोन आक्रमण गरी मार्यौँ भने औकात छैन बाँच्न सक्ने तेरो, भरखर एउटा ड्रोन छोडेर पुलिस हेडक्वार्टर सक्काइदिएँ भने औकात छैन बाँच्ने तेरो, एउटा सानो मिसाइल पनि यहीँमाथिबाट रेडी छ- छाडिदिएँ भने बालुवाटार एक सेकेन्डमा ध्वस्त हुन्छ औकात छैन बाँच्न तेरो। डरायो भन्ने नसोच फेरि' भन्दै अराजक अभिव्यक्ति दिएका थिए।
अर्घाखाँची मालारानी-२ का ३२ वर्षीय भुसालले मानिसहरूलाई भड्काउने, उक्साउने, अफवाह फैलाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउनेसमेतका कार्यहरू गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
भुसालविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पनि मुद्दा दर्ता भएको थियो।
Shares

प्रतिक्रिया