समाज


शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष प्रश्न’ अब नेपालीमा

शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष प्रश्न’ अब नेपालीमा

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:३६, काठमाडौँ

बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशन भएको छ। संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको ‘शेष प्रश्न’लाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो।

किशोरावस्थामै पढेको ‘शेष प्रश्न’को सुखद प्रभाव आफूबाट कहिल्यै नहटेपछि नारायण वाग्लेको अनुरोधमा अनुवाद गर्न तम्सिएको आभासले बताए। कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अनुवादक आभासले भने, ‘मन परेको उपन्यास कुन हो भनेर कुराकानी हुँदै गर्दा मलाई सबैभन्दा पहिला ‘शेष प्रश्न’कै सम्झना भयो। धेरै पछि फेरि यही किताब पढ्दा झनै मन पर्यो।’

आभासले आफ्नो यो अनुवाद कर्मलाई कुनै गीति सृजनामा आफ्नै पाराले धुन भरेको रुपमा व्याख्या गरे।

लोकार्पित पुस्तक ‘शेष प्रश्न’बारे ‘कुमारी प्रश्नहरू’ कथा संग्रहकी लेखक दुर्गा कार्कीले भनिन्, ‘उपन्यास छापिएको झन्नै सय वर्ष पछि पनि मूल पात्र कलम सपना जस्तै लाग्छिन्। उनको पात्रले बोकेको बहुआयामिकता, जटिलता, सूक्ष्मता र क्रान्तिचेत प्रगतिशील साहित्यमा विरलै भेटिने कुरा हो।

पुरुषद्वारा रचिएका आख्यानमा त झनै कम। दुःखको कुरो प्रेम, नैतिकता, विवाहलगायत लैंगिक सामाजिक मूल्य मान्यतामा ‘शेष प्रश्न’मार्फत गरेको परिकल्पनादेखि हामी अझै पनि धेरै पर छौँ। यसको चरित्र चित्रण, संवादात्मक आख्यानशैली र प्रगतिशीलता सुन्दर छ।’ मुख्य नारी पात्र कमल आफूलाई प्रेरणादायी लागेको उनले बताइन्।

कार्यक्रममा अनुवादक आभासले आफू बंगाली साहित्य र संगीतबाट प्रभावित रहेको बताए। आफू बंगालमा लामो समय बसेको अनुभव सुनाउँदै रवीन्द्र गान सुनाएर आफ्नो मन्तव्य आरम्भ गरे। अन्त्यमा उनले उत्तर बंग विश्वविद्यालयमा प्राध्यापनरत सञ्जय बान्तवाले लेखेको नयाँ गीत ‘नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा’ आफ्नै धूनमा सुनाए।

शरत्चन्द्र चट्टोपाध्याय संसारभरि धेरै पढिने लेखक मध्ये पर्छन्। उनका उपन्यास, कथा, नाटक, निबन्ध आदि कृति सयभन्दा बढी प्रकाशित छन्। शरत्चन्द्रका कृति भारतका विभिन्न भाषा तथा थुप्रै अन्तर्राष्ट्रिय भाषामा अनूदित छन्। उनको कृति ‘देवदास’मा आधारित भएर दर्जनौं सिनेमा तथा शृङ्खला बनेका छन्।

पब्लिकेसन नेपालयले सन् २०२५ मा अनुवादका चार पुस्तक प्रकाशन गरेको जनाएको छ।

लोकार्पण कार्यक्रममा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक ‘सात सालको कथा’, नोबेल पुरस्कार विजेता लेखक मो यानका छानिएका कथा र उपन्यासिकाको अनुवादको पुस्तक, नारायण वाग्लेको ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद र अहिले शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास ‘शेष प्रश्न’ प्रकाशन गरेका छौँ।’

दुई दशकदेखि मासिक सांगीतिक शृंखला ‘पलेँटी’ संयोजन गर्दै आएका अनुवादक आभास संगीतज्ञ तथा कवि हुन्। उनको ‘भूगोलमाथि उभिएको जैतून’ कविता संग्रह प्रकाशित छ। साथै उनले थुप्रै बालसाहित्य र बालसंगीत पनि सृजना गरेका छन्।

नेपालीमा अनूदित ‘शेष प्रश्न’ देशका प्रमुख पुस्तक पसलहरुका साथै थुप्रैडटकम वा अमेजनमार्फत पनि किन्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad