समाज


प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १४:५१, म्याग्दी

म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ। 

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको हो। 

खेती किसानी र पशुपालन गर्ने स्थानीयबासीहरुले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुक्ल पूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताए। 

‘कात्तिक पूर्णिमाका दिन तिनचुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पुजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ,’ उनले भने, ‘चार वटा टोलबाट सामुहिक र भाकल पुुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ।’

बैकुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ। शिवालय मन्दिर देखि बराहतालको पुुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ। 

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरु गाँसेर तोरन बनाउने चलन छ। तोरन लिएर पुगेका भक्तजनहरु बैकुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन्। 

यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पूजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिए। तोरन तार्न र पूजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निशुल्क प्रसाद र चिया वितरण गरेको थियो। 

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए। माझखर्कबाट तिनचुुलेतर्फ तोरन लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो। 

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुुर पटेललाई पहलमान घोषणा गरिएको थियो। पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो। 

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए। 

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad