समाज


चैनपुरमा आपराधिक लाभ मुद्दामा ६ जना पक्राउ

चैनपुरमा आपराधिक लाभ मुद्दामा ६ जना पक्राउ

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १६:१८, सङ्खुवासभा

सङ्खुवासभामा आपराधिक लाभ मुद्दामा छ जना पक्राउ परेका छन्। चैनपुर नगरपालिका–७ बाट आपराधिक लाभ कसुर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेका व्यक्तिहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ स्थायी घर भई हाल चैनपुर बसोबास गर्दै आएका ३० वर्षीय केबी पुन मगर, चैनपुर–७ का २५ वर्षीय लब आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय  विरेन यसमाली मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते सुनसरीको गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीमाथि ती व्यक्तिहरुले मोटरसाइकल रोकी अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए। 

त्यसपछि उनलाई  पदम बहादुर यसमाली मगरको घरतर्फ लगेर सिसाको बोतल फुटाई मार्ने धम्की दिएको र सिकाएको कुरा भन्न लगाई भिडि‌‌ओसमेत खिचेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

उनीहरूले चौधरीलाई २० लाख रुपैयाँ नबुझाए उक्त भिडियो मिडियामा हाल्ने धम्की दिँदै तत्कालै विभिन्न प्रलोभनमा पारी ८१ हजार १ सय ४५ रुपैयाँ नगद जबरजस्ती लिएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बाँकी रकम भोलिपल्ट ल्याउने सर्तमा उनलाई सोही रात करिब ३ बजे घर फर्कन दिएका थिए।

पीडित चौधरीले दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरू विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।  उनीहरूको साथबाट ३८ हजार ४ सय ७० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ परेका सबै जनामाथि आपराधिक लाभ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad