पाँचथरमा एक युवकले बुवाको हत्या गरेका छन्। हिलिहाङ गाउँपालिका १ फेदापाका ६९ वर्षीय युवराज राईको हत्या भएको हो।
उनको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए।
उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।
युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया