‘मोन्था’चक्रवातका कारण पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ।
माैसम पूर्वानुमान महाशाखाकाे अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो। दुई सय मिलिमिटर भन्दा बढी भएमा अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरिएकाे छ।
मोन्था चक्रवातको असर अहिले मधेस प्रदेश र कोसी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ।
सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ। झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ। दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ। ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ।
बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए। त्यसपछि भने सुधार हुँदै जानेछ।
नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ।
कोसी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ।
Shares

प्रतिक्रिया