समाज


सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक

सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ७:४३, विराटनगर

बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। 

सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ। 

यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।’

गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। वर्षाको कारण अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको प्रहरीले  जनाएको छ। 

खोटाङमा समेत एक ठाउँमा सडक अबरुद्ध भएको जानकारी आएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।

अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रे जिल्लाअन्तर्गत चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केलगायतको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको समेत उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad