समाज


जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या

जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार २१:२६, काठमाडौँ

जेनजी आन्दोलनमा खुब चर्चामा आएका धादिङका यमबहादुर कंडेल कारागार चलान भएका छन्।

जिल्ला अदालत धादिङले उनलाई आमाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालले बताए। 

भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनका क्रममा सुरक्षाकर्मीसँग जंगिँदै कंडेलले विवाद गरेको भिडिओ भाइरल भएको थियो। हातमा हेलमेट बोकेका कँडेलले प्रहरीलाई ‘सक्नुहुन्छ भने गोली हान्नु न सर, म डराएको छु? हेर्नु त मेरो आँखामा डर छ ?’ भन्दै विवाद गरेका थिए। 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का २७ वर्षीय कँडेल असोज १२ गते घर फर्किएपछि आमाबुबासँग विवाद भएको थियो। असोज १९ गते राति साढे ८ बजेतिर उनले ५५ वर्षीय आमा  राममाया कँडेललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

बुबा गोपबहादुर कँडेललाई पनि उनले कुटपिट गरेका थिए। आमाको भने घाँटी काटेर टाउको फालिदिएका थिए। 

प्रहरीले उनलाई त्यसैदिन पक्राउ गरेर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको थियो। बुधबार जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। 

अनुसन्धानका क्रममा बयान दिँदा कँडेलले मलेसियामा रोजगारी गर्दा कमाएको रकम घरमा आमा बुबालाई पठाएको तर उनीहरुले बचत नगरिदिएका कारण मनमुटाव सुरु भएको बयान दिएका छन्। 

पछिल्लो समय भने उनी काठमाडौँमा पठाओ (राइड सेयरिङ) चलाउँदै आएका थिए। ट्रेकिङ गाइडको पनि काम गर्ने गरेको उनले बयानमा बताएका छन्।

आफूले कमाएको रकमले आफ्नै खर्च ठिक्क हुने र बचत नहुने गरेको तर आमाबुबाले दाइहरुले कमाएको आफूले केही गर्न नसकेको भन्दै पटक पटक हेलाहोचो गरेको पनि उनको बयान छ।

त्यस बेलुका आफू सुत्ने तयारी गरिरहँदा आमाले अर्कै कोठामा सुत भन्दै कपडा अर्को कोठामा लगिदिएको र पहिल्यैदेखि रिस उठेकाले खुँडाले टाउको छिनाएको उनले बयान दिएका छन्। आँगनमा लगेर आमालाई काटेपछि उनले टाउको फालिदिएका थिए। 

घटनाको सूचना पाएलगतै प्रहरी पुगेर उनलाई पक्राउ गरेको थियो। उनलाई जन्म कैद (जीवित रहेसम्म कैद) मा राख्न माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad