नेपाल प्रहरीमा पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएसँगै एसएसपी बढुवाको बाटो खुलेको छ। हाल ६ जना एसएसपीको दरबन्दी रिक्त भएको छ। एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि अर्को पनि सिट खाली भएको हो।
एसएसपीमा बढुवा हुनका लागि १७ जना एसपी प्रतिस्पर्धामा छन्। तर ती १७ जनामध्ये पनि एक एसपी भने ५ वर्ष जुनियरसँग प्रतिस्पर्धा गर्न बाध्य छन्। एसपी विमल बस्नेत अरु प्रतिस्पर्धीभन्दा ५ वर्ष सिनियर हुन्।
उनका ब्याची दुई सातापछि नियुक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धामा छन्। बस्नेतकै ब्याची ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) भइसकेका छन्।
एआईजीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक उनकै ब्याची हुन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका उनीहरूलाई सरकारले २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण गरेको थियो। २०५३ सालकै भर्नालाई कायम गर्दै प्रहरी निरीक्षक सरहकै पदमा ल्याइएको थियो।
प्रहरीमा सरुवा भएपछि डीएसपी र एसपीमा बस्नेत पनि सँगसँगै बढुवा भएका थिए। वरीयतामा पनि उनी उत्कृष्ट १० भित्रै थिए। उनीभन्दा पछाडि अहिलेका एआईजीहरू दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी थिए।
तर उनीहरू अबको दुईसातापछि आईजीपी बन्ने सम्भावना छ। बस्नेत भने ८ वर्षदेखि एसपीमै रोकिएका छन्। उनलाई धेरै जुनियर ब्याचीले उछिनिसकेका छन्। आफूभन्दा पाँच वर्षपछि भर्ना भएका र तीन वर्षपछि एसपी भनेका टोलीसँग प्रतिस्पर्धा गर्न बस्नेत बाध्य छन्।
यसरी पछि परे बस्नेत
२०७४ साउनमा एसपी बढुवा हुँदासम्म बस्नेतको अवस्था ठिकठाकै थियो। उनी दसौँ नम्बरमा एसपी भएका थिए। अहिलेका केही एआईजी र डीआईजीहरू उनीभन्दा त्यतिबेला पछि थिए।
२०७५ फागुनमा उनी ट्राफिक प्रहरी कार्यालय सुर्खेत सरुवा भए। त्यहाँबाट उनलाई ६ महिनामै २०७६ भदौमा तत्कालीन महानगरीय प्रहरी कार्यालय रानीपोखरी (हालको काठमाडौँ उपत्यका प्रहरी कार्यालय) सरुवा गरियो।
ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा घुस खाएको आरोप संगठनले उनलाई २०७७ मंसिरमा लगायो र ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गर्यो।
६ महिनापछि निलम्बन फुकुवा भएर उनी २०७८ वैशाखमा सेवामा फर्किए। तर संगठनले चार ग्रेड बढुवा रोक्काको निर्णय गर्यो।
यसविरुद्ध उनले पुनरावेदन गरे। प्रहरी प्रधान कार्यालयमा पुनरावेदन सुनुवाइ गर्ने थिए तत्कालीन एआईजी विश्वराज पोखरेल। उनले पनि त्यसअघिकै निर्णय सदर गरे।
त्यसपछि एसपी बस्नेत २०७८ फागुनमा आफूलाई कारबाही गर्ने संगठनको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगे।
उच्च अदालतले बस्नेतका पक्षमा अन्तरिम आदेश दिँदै कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्यो। २०७९ कार्तिक २ गते उच्च अदालतले बस्नेतलाई सफाइ दिँदै फैसला सुनायो।
तर उच्चको फैसलाविरुद्ध प्रहरी प्रधान कार्यालय २०७९ चैत २ गते सर्वोच्च अदालत गयो। २०८२ असारमा सर्वोच्च अदालतले पनि उच्चकै फैसला सदर गर्यो र बस्नेतले पूर्ण रुपमा सफाइ पाए।
तर बस्नेत भने त्यसपछि पनि बढुवामा छुट्दै आएका छन्। संसद् सचिवालयमा कार्यरत बस्नेत यसअघि ११ जना एसएसपी बढुवामा पनि परेनन्। जतिबेला उनलाई सर्वोच्च अदालतले पनि सफाइ दिइसकेको थियो।
त्यतिबेला बढुवा हुने ११ जना नै एसएसपी उनीभन्दा जुनियर थिए। जुनियरलाई बढुवा गरेर आफूलाई छुटाइएको भन्दै बस्नेतले बढुवासिफारिस विरुद्धको उजुरी सुनुवाइ समितिमा निवेदन दिए।
उजुरी सुनुवाइ समितिले सुरुकै सिफारिस सदर गर्दा उनलाई उल्टै हानि भयो। उजुरी गरेकै कारण अब उनको २ नम्बर काटिने भएको छ।
अरु १६ प्रतिस्पर्धी
हालको एसपीको वरीयतामा बस्नेतपछि दोस्रो नम्बरमा छन् रामप्रकाश शाह। शाह पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका अधिकृत हुन्।
२०५५ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका उनी पनि २०५८ सालमै प्रहरीमा स्थानान्तरण भएका थिए। शाह यसअघिको बढुवामा छुटेका थिए।
उनीहरू दुई जना बाहेकका एसपीहरू भने २०५८ सालका प्रहरी निरीक्षक (इन्सपेक्टर) हुन्। उनीहरू २०७७ माघमा एसपीमा बढुवा भएका थिए।
एकसाथ एसपी भएका भुवनेश्वर तियारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही प्रतिस्पर्धामा छन्।
अब केही दिनमा उनीहरूमध्ये ६ जना एसएसपीमा बढुवा हुनेछन्। हाल डीआईजीमा बढुवाका लागि सिफारिस गरिए पनि गृहमन्त्रीले बढुवाको निर्णय गर्न बाँकी छ। बढुवाको निर्णय हुनासाथ सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ।
डीआईजीका लागि भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले सिफारिस भएका छन्।
Shares

प्रतिक्रिया