एक व्यक्तिको हत्या आरोपमा ललितपुरबाट ८१ वर्षीय वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २२ बस्ने कान्छा पुतुवार रहेका छन्।
उनीमाथि काठमाडौंको दक्षिणकाली नगरपालिका–९ स्थायी वतन भएका वर्ष ५५ को धने भन्ने धन बहादुर तामाङको हत्या गरेको आरोप छ।
यही कात्तिक १२ गते ललितपुर–२२ खोंइचामा शंकास्पद अवस्थामा एक पुरुष व्यक्तिको शव छ भन्ने सूचनाका आधारमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा गइ अनुसन्धान गरेको थियो।
सो क्रममा धन बहादुर तामाङको कर्तव्य गरी हत्या गरेको देखिकोमा प्रहरीले विशेष सुराकीको आधारमा ८१वर्षीय कान्छा पुतुवारलाई पक्राउ गरेको जनाएको छ।
मृतक धने भन्ने धन बहादुर तामाङको कान्छा पुतुवारको घरमा बस्ने महिलासँग आर्थिक लेनदेन रहेको र बेला बखत निजको घरमा आई रहने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
११ गते साँझ अन्दाजी ६ बजेको समयमा पनि धन बहादुर तामाङले मदिरा सेवन गरी कान्छा पुतुवारको घरमा आई उनीसँग बादविवाद गरेकाले कान्छा पुतुवारले सम्झाइ बुझाई गर्दा समेत झन् उत्तेजित भई पुनः वादविवाद गरीरहेकाले एक्कासी रिस आवेगमा आई तामाङलाई धकेल्दा बिजुलीको पोलमा टाउको ठोकिन पुगी घाइते भएका थिए।
बेहोस अवस्थाका उनलाई कान्छाले खोल्साको बाटो हुँदै घिसारेर बाँसघारीमा लगी फालेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कान्छा पतुवारमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भई रहेको छ।
Shares

प्रतिक्रिया