समाज


‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने, कोसी र मधेसमा भारी वर्षाको सम्भावना

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने, कोसी र मधेसमा भारी वर्षाको सम्भावना

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १७:३०, काठमाडौँ

बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए।

यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोसी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए। यसको प्रभाव वागमती प्रदेश र कोसी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाई छ।

उनकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबार दिउँसो) सम्म रहने पूर्वानुमान छ। उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए। 

उनले भने, ‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ। त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ। विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ। यो सामुन्द्रिक चक्रवातले समुन्द्रि क्षेत्रबाट जुन जलवाष्पहरू लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोसी प्रदेश र मधेस प्रदेशको क्षेत्रमा ठूलो वर्षाको सम्भावना देखिएको छ भने वागमती प्रदेश र कोसी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिनसक्ने, १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म करिब यसको प्रभाव रहने देखिन्छ। खासगरि हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना बागमती प्रदेश र कोसी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ।’ 

उनले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए। बागमती र कोसीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उनको भनाई छ। यद्यपि नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उनले आग्रह गरे।

उनले मधेस र कोसी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तिब्र बहावको सम्भावना रहेको बताए। १३ गते रातिदेखि १५ गतेसम्म उच्च शतर्कता अपनाउन उनले आग्रह गरे। 

उनले भने, ‘अब ठूला नदीहरूमा वाहवको अवस्था हाल समान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिव करिव २४र२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था वागमती, कोसी जस्ता ठूला नदीहरूमा पार्ने देखिँदैन। तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ। त्यसकारण शतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटिय क्षेत्र सामान्य अवस्था भएको नदीहरूमा ठूलो बहाव आउँदाखेरि खतरा तहको वहाव नआएतापनि त्यसले जोखिम निम्त्याउने भयो। त्यसकारण सतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ। सँगै स–साना खोलाहरू जति पनि छन्, खासगरि मधेस प्रदेश र कोसी प्रदेशको। त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरूमा आकस्मिक बहाव, तीब्र बहावको सम्भावना देखिएको छ।’ 

जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन्। हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाई छ।

उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले गर्दा मंगलबारको बदली देखिएको बताइन्। बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उनको भनाई छ। बिहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad