पोखरा १४ मा रहेको पुष्करिणी गोकुलधाम बुधबार पनि उस्तै थियो। गाईको बाँ-बाँ आवाज गुञ्ज्एिकै थियो। बाच्छा-बाच्छी कतिबेला दाम्लोबाट फुस्केर लाम्टो चुस्न पाइएला भनेर मान्छेको सर्याकसुरुक कुर्दै थिए।
गोकुलधामका कामदारहरूको गोबर सोहोर्ने, कुँडो पकाउने, दूध दुहुने, पराल काट्ने र ढुटो र चोकर मिसाउने दैनिकी दोहोरिएकै थियो तर बुधबार भने विशेष थियो।
कारण-बुधबार गाईतिहार थियो। पुष्करिणीधामका अगुवा स्वामी कमलनयन गौतम आफैँ गाई-गोरु र बाच्छा-बाच्छीको पूजा र मीठो-मसिनो खुवाउने कामको अगुवाइ गर्दै थिए।
एकछिनपछि गाईका निधार र ज्यानमा ‘धाप’ अनि घाँटीमा माला देखिए। गाईगोरु टाटेपाटे देखिए। मीठो-मसिनो फेला पारेपछि गाईहरू नाध्रा फुलाए, स्वाँस्वा र फ्वाँफ्वाको आवाजले गोकुलधाम गुञ्जायमान बन्यो।
तिहारमा गाई पूजिनु परम्परा हो। तर, पुष्करिणी गोकुलधाम कस्तो ठाउँ हो, कसरी बन्यो र त्यहाँ के गरिन्छ ? हामी यहाँ त्यसको चर्चा गर्दैछौं।
राष्ट्रिय जनगणना २०७८ अनुसार ३३ वडामा फैलिएको पोखराको जनसंख्या ५ लाख १३ हजार ४ सय ७ रहेको छ।
उपत्यकामा अहिले पनि कृषिमा आश्रित जनसंख्या ५० प्रतिशतको हाराहारीमा छ। गाई र भैंसीपालनको परम्परागत पेशा अपनाउनेहरूको संख्या पनि कम छैन। पोखरा महानगपालिकाले गरेको एक सर्वेक्षण अनुसार ७० वटा गाई र २ सय ७ वटा भैंसी फार्ममा गरी कुल १९ हजार ४ सय ४५ गाई र १४ हजार ५ सय ७ वटा भैंसी रहेका छन्।
महानगरले ४ सय ४ जना सक्रिय कृषकलाई उत्पादनको परिणाम अनुसार विशिष्ठदेखि व्यवसाय उन्मुख कृषकको रुपमा वर्गीकरणसमेत गरेको छ। कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार हाल यो संख्या बढेको छ।
कसरी आउँछन् सडकमा चौपाय?
भैंसीमा समस्या छैन। बुढो हुँदा वा थारो रह्यो भने कटाइमा दिन मिल्छ। तर,नेपालको कानुनले गाई काट्न बर्जित गरेको छ। गाई बुढो भयो वा थारो रह्यो भने चाहिँ किसानलाई समस्या! घाँस-पराल,ढुटो-चोकर खुवाएर थारो र बुढो गाई कसले पालोस्! दूध दिइञ्जेल घरमै बाँध्ने र दूध दिन छाडेपछि गाईलाई बाटोमा छाड्ने निर्दयी सहरिया किसानहरूको प्रवृत्ति हो। बाच्छीसम्म भोलि ब्याउला भन्ने हुन्छ।
जर्सी र होलिस्टिनलगायतका गाईको बहर पनि जोत्न काम लाग्दैन। न जोत्न मिल्ने न पाडोजस्तो कटाइमा दिन मिल्ने! दूध आफूले खानुपर्यो, बाच्छालाई किन खुवाउने? त्यसैले निर्दयी पशुपालकहरू बहर जन्मनासाथ बढी दूध खुवाएर (ओभरफिडिङ) मार्ने र वा जन्मनासाथ घाममा लगेर छाड्ने गर्छन्।
मनमा ‘हरि’ हुनेहरू पनि बहर हुर्केपछि दाम्लो फुकाएर सडकमै पठाउँछन्। मालिकले माया मारेपछि ती चौपाय सडकमा आइपुग्छन्। प्लाष्टिक र बाटोमा फालिएका कागज र फोहोर खान बाध्य बन्छन्। सडकमा छाडिएका चौपायहरू रातको समयमा ओभानो ठाउँमा बस्न खोज्छन्। सडकको बीच भाग अरुतिरभन्दा ओभानो हुन्छ। रातको समयमा चल्ने सवारीले ती चौपायलाई ठक्कर दिँदा कति ठाउँको ठाउँ ठहरै हुन्छन् भने कति चाहिँ अधकल्चो शरीर लिएर बाँच्न अभिषप्त बन्छन्। यो हरेक सहरमा देखिने दृष्य हो। देशकै समस्या हो।
गाईको पूजा एउटा कर्म हो। आखिर पोखरा १४ को बाच्छेबुडुवा,अघिल्लो वर्षसम्म त्यो पोखराको फोहोर फाल्ने ठाउँ थियो। जापानी सहयोग नियोग जाइकाको सहयोगमा निर्माण भएको ल्याण्डफिल साइट पोखरा एयरपोर्टको संचालनसँगै बन्द गरियो। भागवत्वाचकको परिचय बनाएका कमलनयन गौतमले त्यो ठाउँमा गाईपालन गर्ने सोच अगाडि सारे।
सडक पोखरा १४ मा रहेको पुष्करिणी परोपकार गोकुलधाममा बुधबार एकाबिहानैदेखि विशेष चहलपहल थियो। कोही कुँडो पकाउँदै थिए,कोही पराल काट्दै थिए भने कोही चाहिँ ढुटो र चोकरको मात्रा मिलाउँदै थिए। स्वामी कमलनयन गौतम ती कामलाई नजिकबाट नियालीरहेका थिए।
सडकमा छाडेका चौपायको केही वर्षअघिसम्म पोखरा महानगरमा छाडा चौपाय ठूलो समस्याको रुपमा रहेको थियो। पोखरा महानगरपालिका छाडा चौपाया व्यवस्थापनमा सफल देखिएको छ। पछिल्लो करिब तीन वर्षमा छाडा चौपायामा सवारीसाधन ठोकिएर कुनै मानवीय क्षति बेहोर्न नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सोभा पाण्डेले देशका अन्य सहरको तुलनामा पोखरामा छाडा चौपाया व्यवस्थापन अत्यन्त राम्रो रहेको बताइन्।
सडकमा छाडा चौपाया भेटेमा आफूहरूले पोखरा महानगर प्रहरीसंग समन्वय गर्ने र नगरप्रहरीले पोखरा १४ बाच्छेबुढुवामा रहेको पुष्करिणी परोपकार गोकुलधाममा लगेर छाड्ने गरेकोे उनले बताइन्।
‘पछिल्लो करिव ३ वर्षमा छाडा चौपायाका कारण पोखरामा कुनै मानवीय क्षति छैन।’ उनले भनिन्, महानगर प्रहरीको समन्वयमा सडकमा देखिएका गाईगोरु र चौपाया व्यवस्थापन भइरहेको छ। अन्य सहरको तुलनामा पोखरामा छाडा चौपाया व्यवस्थापन राम्रो छ।’
पुष्करिणी परोपकार गोकुलधाम पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा सञ्चालित रहेको छ।
पुष्करिणी परोपकार गोकुलधामको व्यवस्थापन गरिरहेको संस्था राष्ट्रिय परोपकार महासंघका संरक्षक भागवत भास्कर कमलनयन गौतमका अनुसार अहिले गोकुल धाममा सडकमा छाडिएका ३१८ भन्दा धेरै गाई गोरु पालिएको छ।
‘अहिले गोकुलधाममा सडकमा छाडिएका गोवाशं (गाई र गोरु) ३१८ भन्दा धेरैको संख्यामा छन्।’ उनले भने, ‘सडकमा छाडा गाईगोरु देखिए गोकुलधामका कर्मचारी एवं महानगर प्रहरीले लिएर आउनुहुन्छ। कतिपयले सिधै यहीँ ल्याएर पनि छोड्नुभएको छ। हाम्रो आग्रह सकेसम्म आफूले पालेको गाईगोरु छाडा छाड्दै नछाड्नु। छाड्ने नै हो भने गोकुलधाममा नै ल्याएर छोड्नु।’
पोखरा महानगरका प्रमुख धनराज आचार्यल पोखरामा छाडा चौपायकै कारण कुनै पनि क्षति बेहोर्न नपर्नु सुन्दर पक्ष भएको बताउँछन्। उनले राम्रो व्यवस्थापनका बाबजुद् अझै पनि फाट्टफुट्ट छाडा चौपाया देखिने गरेका भन्दै व्यवस्थापन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
‘दुई वर्षदेखि छाडा चौपायाका कारण दुर्घटना नहुनु सुन्दर पक्ष हो। अझै पनि कहिलेकाँही सडकमा फाट्टफुट्ट गाईगोरु देखिने गरेका छन्। यसको पनि नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक छ’ उनले भने।
महानगरका प्रमुख आचार्यले अब आफूहरूको ध्यान सामुदायिक कुकुर व्यवस्थापनमा रहेको बताएका छन्। विगतमा भुस्याहा कुकुर भनेर चिनिने सामुदायिक कुकुरको व्यवस्थापन चुनौतिपूर्ण रहेको उनले जानकारी दिए। उनका अनुसार गत वर्ष मात्रै ५७ सय कुकुरको बन्ध्याकरण गरिएको छ।
कसरी भइरहेको छ व्यवस्थापन ?
परोपकार महासंघका संरक्षक भागवत भास्कर कमलनयन गौतमको अग्रसरतामा पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित बाच्छेबुडुवामा पुष्करिणी परोपकार गोकुलधाम सञ्चालनमा छ।
त्यहाँ पोखराका सडकमा भेटिएका छाडा गाईगोरु नगर प्रहरीले खेदेर र गाडीमा राखेर पुर्याउँछ। त्यसपछि लगिएका गाई गोरुको सामान्य स्वास्थ्य परीक्षण गरेर राख्ने स्थान छुट्याइन्छ।
कतिपय दुहुना गाई समेत सडकमा भेटिन्छन् स-साना बाच्छाबाच्छी दुहुना गाई, रोगी गाईगोरुका लागि अलग अलग राखेर हेरचाह गर्ने व्यवस्था गरिएको कमलनयन गौतमले जानकारी दिए।
उनका अनुसार महनगरपालिकाले पोखरा १४ बाच्छे बुढुवामा विगतको ल्याण्डफिलसाईडसँगै करिब ३५ रोपनी क्षेत्रफल चरन क्षेत्रको रुपमा र १० रोपनी क्षेत्रफलमा तारबारसहित छाना र गाइगोरु बस्ने स्थलको रुपमा विकास गरिएको छ।
गौतमले गौसालामा रहेका चौपायाबाट प्राप्त हुने गोबर र गहुँतलाई प्रशोधन गर्ने, गाईको दूधको परिकार बनाउनुका साथै समग्र उक्त क्षेत्रलाई नै एक दर्शनीय पर्यटकीय स्थल बनाउने योजना रहेको जानकारी दिए।
पोखरा महानगपालिकाको बजेटबाट पराल र अन्य खाद्यन्न खरिदको लागि ७ लाख ५० हजार पुष्करिणी परोपकार गोकुलधाम पार्क निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
Shares

प्रतिक्रिया