समाज


धमाधम छठ पर्वको तयारी सुरु

धमाधम छठ पर्वको तयारी सुरु

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १७:१, जलेश्वर (महोत्तरी)

तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ।

मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए। 

सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए। 

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ। मिथिलावासीहरु यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए।
 

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ। 

पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए।

जलेश्वर नगरपालिका–१स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए। 

यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरुमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad