समाज


सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक ८ मुद्दाका अभियुक्त, सुनाकोठीबाट पक्राउ

सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक ८ मुद्दाका अभियुक्त, सुनाकोठीबाट पक्राउ

नेपालखबर
असोज २९, २०८२ बुधबार १७:३३, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको युवक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३६ वर्षीय सम्राट भन्ने राजु परियारलाई पक्राउ गरेको हो। 

उनलाई ललितपुर महानगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमा बुझाइएको छ। उनले आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर सिंहदरबारमा ताक्दै हिँडेको भिडिओ सार्वजनिक भएको थियो। उनले प्रहरीबाट लुटेको हतियार भने फेला परेको छैन। 

परियारले प्रारम्भिक सोधपुछका क्रममा पछि उक्त हतियार नेपाली सेनालाई बुझाएको बताएका तर त्यो पुष्टि हुन नसकेको परिसरका एक अधिकारीले बताए। उनीविरुद्ध यसअघि २०६४ सालपछि ८ वटा मुद्दा दर्ता भइसकेको पाइएको छ। 

प्रहरीको अभिलेखमा उनीविरुद्ध ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र ठगीका मुद्दा दर्ता भएका थिए। २०६४ माघ २० गते जिल्ला प्रहरी परिसर काठमाडौँबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। २०७० असोज १४ गते पनि ललितपुरकै रोमन महर्जनको जाहेरीले ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गरिएको थियो। 

२०७५ पुस १३ गते नयाँ बानेश्वर बृत्तबाट ठगी सम्बन्धी कसुरमा मुद्दा चलेको थियो। उनीविरुद्ध रवि तामाङले ठगीको जाहेरी दिएका थिए। महाराजगञ्ज बृत्तबाट बैंकिङ कसुरको मुद्दामा पनि उनलाई प्रतिवादी बनाइएको अभिलेख फेला परेको छ। 

राजकुमार खड्गीको जाहेरीले २०७९ पुस १७ गते यो मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङको जाहेरीले ठगी सम्बन्धी मुद्दा दुई वर्ष पहिले पनि चलेको थियो। २०८० साउन ७ गते यो मुद्दा दर्ता भएको थियो। 

२०६५ भदौ १० गते पनि अर्को मुद्दा परेको थियो। गोबिन्द रिमालको जाहेरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको थियो। अभद्र व्यहारमै रवि तामाङको जाहेरीले नयाँ बानेश्वर बृत्तबाट २०७५ पुस १३ गते पनि उनीविरुद्ध मुद्दा चलाइएको खुलेको छ। 

२०७१ वैशाख १९ गते प्रहरी वृत्त स्वायम्भुबाट ठगी सम्बन्धी अर्को कसुरमा उनलाई प्रतिवादी बनाइएको थियो। सुदन बैजुले उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका थिए। उनीमाथि काठमाडौँ प्रहरी परिसरले थप अनुसन्धान अगाडि बढाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad