काठमाडौँको पशुपतिनाथनजिक गौरीघाटमा एक महिलाको हत्या भएको छ।
काठमाडौँ महानगरपालिका-७, गौरीघाट, मिलनचोकमा डेरा गरी बस्ने संखुवासभा, खाँदबारी नगरपालिका ६ घर भएकी ४० वर्षीया विमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या भएको हो।
उनी आइतबार दिउँसो मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
हत्यामा उनकै श्रीमानको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ।
प्रहरीले यस घटनामा अनुसन्धानका लागि ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो पक्राउ गरेको छ। उनीहरूबीच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनामा संलग्न देखिएको भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको एसपी भट्टराईले बताए।
Shares

प्रतिक्रिया