समाज


पोल्यान्डबाट नेपालखबरकर्मी परियारले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

पोल्यान्डबाट नेपालखबरकर्मी परियारले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

नेपालखबर
असोज ९, २०८२ बिहिबार १४:३३, काठमाडौँ

युरोपेली मुलुक पोल्यान्डमा रहेका नेपालखबरकर्मी शेरबहादुर परियारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख सहयोग गरेका छन्।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका कम्रमा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि परियारले उक्त कोषमा सहयोग रकम उपलब्ध गराएका हुन्।

गएको भदौ २३ गते नेपालमा भएको जेनजी प्रदर्शनमा व्यापक दमन भएपछि भड्किएको मासले २४ गते विश्वंसको रूप लियो।

देशैभर मच्चिएको विध्वंसले काठमाडौँ लगायत देशका अधिकांश सहर जले। मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, अख्तियार, केही जिल्ला अदालत, मुख्य राजनीतिक दलका कार्यालय र मुख्य नेताका निवास, व्यापारिक केन्द्रहरू, प्रहरी कार्यालयलगायत खरानी भए।

नेताहरू घर छाडेर सैनिक सुरक्षा घेरामा बस्नुपर्ने अवस्था बन्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा घरमै निर्घात कुटिए।

जेनजी प्रदर्शनले उग्र रूप लिन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर गुप्तवास पसे। प्रहरीले परिस्थिति नियन्त्रणमा लिन सकेन। देश अभिभावकविहीन अवस्थामा अलपत्र बन्यो।

२४ गते राति १० बजेबाट नेपाली सेनाले सुरक्षा स्थिति हातमा लियो। कर्फ्युको अवस्थामा जेनजीको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे। नियुक्ति लगत्तै प्रधानमन्त्री सुशीला कार्कीको (त्यतिबेला मन्त्रिपरिषद् विस्तार भइसकेको थिएन) सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरे र फागुन २१ गतेका लागि प्रतिनिधि सभाको नयाँ निर्वाचन तोके। 

कार्कीको नेतृत्वमा बनेको उक्त अन्तरिम सरकारको मुख्य एजेन्डा देशमा नयाँ जनमत स्थापित गराउनु त छँदैछ यसका साथै प्रदर्शनका क्रममा भएको ठूलो भौतिक संरचना क्षतिको पुनर्निर्माण पनि गर्दै जानु पर्नेछ।

यसका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ। यस कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वेदशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको छ।

यही कोषमा पोल्यान्डलाई कर्मभूमि बनाएका नेपालखबरकर्मी परियारले १ लाख रुपैयाँ सहयोग गरेका हुन्।

पत्रकार महासंघ युरोप शाखाका महासचिव समेत रहेका परियार सहयोग रकम ट्रान्सफरपछि भन्छन्, ‘देश रोएको यो बेला हामीले नगरे कसले गर्ने?’

आफूले जस्तै अन्यलाई पनि संस्थागत तथा व्यक्तिगत रूपमा सहयोग गर्न अपिल गर्दै उनी थप्छन्, ‘जेनजीको आन्दोलनमा विदेशमा बस्ने नेपालीले सामाजिक सञ्जालमार्फत हिंसालाई थप भड्काउन दिएको अभिव्यक्ति खेदजन्य छ। व्यक्ति हत्या र सार्वजनिक वा निजी सम्पत्ति तोडफोड गराउने मन कसरी नेपाली हुन सक्छ?’

परियारले यसअघि पनि राष्ट्र विपत्तिमा परेको बेला आर्थिक सहयोग गरेका छन्। कोभिड-१९ को समयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरूलाई राहतका लागि बनाएको पत्रकार कल्याण कोषमा परियारले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad