एक वर्षअघि पशुपतिनाथ मन्दिरमा आयोजित कोटीहोम महायज्ञमा प्रवचन दिएर चर्चामा आएका कृष्ण दमाईले कैलालीको धनगढी उपमहानगरपालिकामा जागिर सुरु गरेका छन्।
संस्कृतमा आचार्य उत्तीर्ण गरेर पनि बेरोजगार रहेका बैतडीका दमाईंलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति दिएको हो।
बैतडीको शिवनाथ गाउँपालिका–५, बकुन्नामा जन्मिएका कृष्ण दमाईंले संस्कृत विषयमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण गरेका छन्।
२०८१ साल साउन २५ गते मानव सेवा फाउन्डेसनले पशुपति मन्दिर परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमामा प्रवचन दिएपछि उनी चर्चामा आएका थिए।
त्यतिबेला महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले कृष्ण दमाईलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए।
प्रवचनका क्रममा आचार्य कृष्णले भनेका थिए, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु। मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ। मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु।’
उनले कोटीहोममा उपस्थित भएपछि सबै जाति र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको पनि बताएका थिए।
Shares

प्रतिक्रिया