समाज


टाउकोमा गोली लागेर ढलेका दीपेन्द्रको तस्बिर जब बुबाले फेसबुकमा देखे

छोरो स्वस्थ हुँदै गएको देखेर हर्षित डिल्ली भन्छन् : चमत्कारै भयो
टाउकोमा गोली लागेर ढलेका दीपेन्द्रको तस्बिर जब बुबाले फेसबुकमा देखे

प्रज्ञा तिम्सिना
असोज ३, २०८२ शुक्रबार २२:३०, काठमाडौँ

दैलेखका डिल्ली बस्नेत भदौ २३ गतेको जेनजी प्रदर्शन सामाजिक सञ्जालमा हेरिरहेका थिए। प्रदर्शनमा मृतक र घाइतेको संख्या बढिरहेको समाचार हेर्दै गर्दा एउटा युवक रगताम्य अवस्थामा संसद् भवनअगाडिको ब्यारिकेडमा ढलिरहेको फोटोमा उनको  आँखा पर्‍यो। 

सुरुमा त उनले ती व्यक्तिलाई चिन्न सकेनन्। तर, बारम्बार सञ्जालमा फोटो देखिन थालेपछि नियालेर हेरे।

उनी छाँगाबाट खसेजस्तै भए। हंसले ठाउँ छाड्यो।

किनकि फोटोमा रगताम्य देखिएका व्यक्ति अरु कोही नभएर उनकै छोरा थिए।

जागिर खान्छु भन्दै काठमाडौँ आएको २८ वर्षीय छोरा दीपेन्द्र बस्नेतको टाउकोमा प्रहरीले हानेको गोली लागेको थियो। 

टाउकोबाट रगत बगिरहेको अवस्थामा फोटो देखेका उनले छोराको माया मार्न थालिसकेका थिए। १९ जनाको ज्यान गइसकेको खबर आइरहेको थियो। उनलाई लाग्यो– अब छोरालाई जिउँदो देख्न पाउँदिनँ।

डिल्ली आफूलाई सम्हाल्दै तत्काल काठमाडौँ हिँडे। काठमाडौँ आइपुग्दा भन्ने उनको  खुसीको सीमा नै रहेन। चिकित्सकले देखाएको चमत्कारलाई उनले विश्वास नै गर्न सकेनन्। 

डिल्लीका छोरा दीपेन्द्र हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। 

भेट्न, बोल्न पाउँछु भन्ने आशा नै मारिसकेको छोरा केही बोल्न र खान सक्ने अवस्थामा देख्दा डिल्ली चमत्कार भएको बताउँछन्। 

‘टाउकोमा गोली लागेर आशा मारिसकेको छोरा अहिले केही बोल्न सक्ने हुनु भनेको कुनै चमत्कार भन्दा कम होला त!’ यसो भनिरहँदा उनको आँखामा खुसीको आँसु देखिन्थ्यो।

डिल्ली अस्पतालमा भेटिनेहरूलाई छोरा घाइते भएर ढलेको तस्बिर देखाउँदै अब दीपेन्द्र स्वस्थ हुँदै गएको बताउँछन्।

जागिर खान काठमाडौँ
दैलेख भगवतीमाई गाउँपालिका १ का २८ वर्षीय दीपेन्द्र बस्नेत जागिर खाएर परिवार पाल्ने भन्दै काठमाडौँ आएका थिए। विवाहित दीपेन्द्रको ४ वर्षीय छोरा छन्। 

परिवारको जिम्मेवारी बोकेर काठमाडौँ बसिरहेका दीपेन्द्रलाई जेनजी प्रदर्शनको माहोलले तानेको थियो। उनी भदौ २३ गतेको प्रदर्शनमा गएका थिए। प्रदर्शन चर्किंदै गर्दा उनी संसद् भवनअगाडि पुगेका थिए। प्रहरीले दीपेन्द्रको टाउकोमा ताकेर गोली हान्यो। उनी संसद् भवनसामुन्नेको ब्यारिकेडमा ढले। दीपेन्द्रको टाउकोबाट रगत बग्न थाल्यो। केही प्रदर्शनकारीले उनलाई तत्काल बानेश्वरको  निजामती कर्मचारी (सिभिल) अस्पताल लगेका थिए। 

अस्पतालमा न्युरो शल्यचिकित्सक नभएकाले त्यहाँ उनको उपचार भएन। काठमाडौँ महानगरपालिकाको एम्बुलेन्सले गम्भीर घाइतेहरूलाई अन्य अस्पताल लगिरहेको थियो। दीपेन्द्रलाई पनि माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगियो। अस्पतालले तत्काल उनको टाउकोको  शल्यक्रिया गर्‍यो। शल्यक्रिया भएको केही समयपछि उनका आफन्त अस्पताल पुगेका थिए। 

चिकित्सकले शल्यक्रिया सफल भएको बताएका थिए। अवस्था गम्भीर रहेको भन्दै चिकित्सकले २४ घण्टा केही भन्न नसकिने जनाएका थिए। 

तर, चमत्कार भयो। शल्यक्रिया सफल भयो र दीपेन्द्रलाई २४ घण्टामा होस आयो। 

टाउकोमा लागेको गोली दायाँ आँखासम्म पुगेका कारण दीपेन्द्रले एउटा आँखा भने गुमाएका छन्। ११ दिनदेखि न्युरो अस्पतालमा उपचाररत उनी अहिले बोल्न र खाना खान सक्ने भएका छन्। दीपेन्द्रको हात र खुट्टा भने राम्रो सँग चल्न सकेको छैन।  

चिकित्सकले पूर्ण रुपमा निको हुन केही महिना लाग्ने बताएको उनको परिवारले जनाएको छ।

फोटो हेर्ने सबैले आशा मारेका थिए 
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा ढलेका युवकको तस्बिर सामाजिक सञ्जालमा फैलिएको थियो। सो तस्बिरले फोटो हेर्ने सबैलाई विक्षिप्त बनाएको थियो। टाउकोबाट रगत बगिरहेको देख्दा सबैले उनको आशा मारेका थिए।

उनको स्वास्थ्य अवस्थाको बारेमा कतै सूचना पनि आएको थिएन। 

आन्दोलन सुरु भएदेखि नै घाइतेहरूको सेवा र सरसफाइमा खटिएका अभियन्ता केपी खनालले अस्पतालमा दीपेन्द्रलाई भेटेपछि सामाजिक सञ्जालमा दीपेन्द्र ब्यारिकेडमा ढलिरहेको फोटो राख्दै स्वस्थ हुँदै गएको जानकारी दिए। त्यसपछि उनी जीवित रहेको सबैले थाहा पाएका थिए। 

उनको तस्बिरसहित केपी खनालले आफ्नो फेसबुकमा लेखेका छन् ‘पीडामा पनि एकाबिहानै एउटा खुसीको आशा बाँड्न यो खबर सुनाउँदै छु कि आन्दोलनका दिन यो तस्बिरमा देखिनुभएको व्यक्ति बाँच्नुभएको र अहिले स्वस्थ हुँदै जानुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad