समाज


काठमाडौँका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँका १५ स्थानमा यात्रु सहायता कक्ष

नेपालखबर
असोज ३, २०८२ शुक्रबार ७:३५, काठमाडौँ

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ को शुभारम्भ गरिएको छ। गोङ्गबुस्थित नयाँ बसपार्कमा बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरेका हुन्। 

एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए । उनले विगतमा भएका कमी कमजोरीलाई सुधारेर राज्यका सबै निकायले जनतालाई छिटो, छरितो र न्यायपूर्ण सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सेवामा जुटेको छ”, उनले भने। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातलाई नागरिकमुखी बनाउँदै अगाडि लगिने बताए। उनले जेनजी आन्दोलनका कारण नेपालको यातायात क्षेत्रमा ठुलो समस्या भएको भन्दै उक्त घटनालाई बिर्सेर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले खरानीको ढिस्कोमा बसेर यातायात विभागले नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको बताए । उनले सार्वजनिक यातायातलाई चाडपर्वमा व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभागले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिसकेको उल्लेख गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीलगायतले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्य स्थलमा पुर्‍याउनु सबैको दायित्व भएकाले एकजुट भएर काम गर्नुपर्ने बताएका थिए।

बिहीबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad