समाज


गुप्तचर प्रमुख थापा अवकाशमा, नेतृत्वका लागि जोशी र कार्की प्रतिस्पर्धामा

गुप्तचर प्रमुख थापा अवकाशमा, नेतृत्वका लागि जोशी र कार्की प्रतिस्पर्धामा

ओमप्रकाश जोशी र टेकेन्द्र कार्की


नेपालखबर
भदौ २८, २०८२ शनिबार १६:३८, काठमाडौँ

मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापाले आजबाट अवकाश पाएका छन्।

थापा ३ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाशमा गएका हुन्। उनी २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए।

नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र टेकेन्द्र कार्की प्रतिस्पर्धामा छन्।

यी दुवै प्रतिस्पर्धी थापासँगै २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन्।

बैतडी घर भएका जोशी ३ वर्षअघि तिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए भने जुम्ला घर भएका कार्की त्यसको डेढ महिनापछि उक्त पदमा पुगेका हुन्।

यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोडबलमा थिए। रातारात मुलुकको राजनीतिक परिदृश्य नै परिवर्तन भएपछि अब यी दुईमध्ये कसले मौका पाउँछन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन।

अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ। यसको प्रमुखको नियुक्ति पनि मन्त्रिपरिषदबाट हुन्छ।

यीमध्ये जो प्रमुख भए पनि ३ वर्षको पूरा कार्यकाल अनुसन्धान विभागको नेतृत्व गर्न पाउनेछन्। प्रमुख हुन नसकेकाले अबको २ वर्षमै पाँच वर्षे पदावधिको हदका कारण घर जानुपर्नेछ।

त्यसो त हालै भएको विध्वंशकारी घटनामा यस निकायको भूमिका के रह्यो भन्ने पनि समीक्षा गर्नुपर्ने विषय बालुवाटारमा उठेको छ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र उनको टिममा सबै सुरक्षा निकायका मुख्य जिम्मेवारीमा रहेका सबैको भूमिकाको जाँचबुझ गर्नुपर्ने कुरा पनि छलफलमा छ। 

यस घटनाको जाँचबुझका लागि मन्त्रिपरिषदबाट आयोग बनाउने तयारी भइरहेको छ। उक्त आयोगले काम गर्न समय लाग्ने भएकाले सुरक्षा चूकको विषयमा प्रारम्भिक रूपमै अध्ययन गरी कमजोरी देखिएका पदाधिकारीलाई समयमै व्यवस्थापन गर्नेसम्मको कुरा छलफलमा छ।

यस विभागमाथि भइरहेको लगानीको सदुपयोग वा दुरूपयोग के भइरहेको छ भनेर पनि खोज्नुपर्ने आवाज संगठनभित्रै पनि उठ्ने गरेको छ। खासगरी एजेन्ट परिचालनका नाममा हाकिमहरूले विभिन्न दलका कार्यकर्ता पालेर नेता रिझाउने, आफन्त पोस्ने तर सूचना केही पनि प्राप्त नगर्ने कारण यो निकाय प्रभावकारी हुन नसकेको विभिन्न यसअघिका अध्ययनहरूले पनि देखाएका छन्।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad