समाज


अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारी प्राथमिकतामा

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारी प्राथमिकतामा

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार १४:१०, काठमाडौँ

जेन–जीले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ। 

दुई दिनअघिको काठमाडौँ केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ। विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका बिरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको छ।  

मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ। अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीकाअनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पु¥याउन कठिन भएको छ। 

‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ। चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ। तर हाललाई ‘ओपीडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ’, उनले भने, ‘हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ।’

हाल सो प्रदर्शनमा घाइते भएका ४६ जनाको उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइते भएकाहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा.सुवास आचार्यले जानकारी दिए।

‘अत्यावश्यक र  ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन। ‘ओपिडी’ सेवा सञ्चालनमै छ। तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन्। डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ। घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ’, उनले भने, ‘हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ।’

निर्देशक आचार्यका अनुसार ‘ओपीडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ। 

‘राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ। जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ। अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्’, अस्पतालका निर्देशक डा.बद्री रिजालले भने, ‘चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ। स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ।’

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ। 

जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले भने, ‘ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad