सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि प्रतिबन्धको अवस्था खेप्ने सूचीमा परेका २६ कम्पनीमध्ये २ वटा सूचीकरण हुन आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइसकेको जनाएको हो।
'मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय गराइसकेपछि मिति ०८२ भदौ २२ गतेसम्ममा स्मार्ट आइडिया प्रालिद्वारा सञ्चालित हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेको जानकारी गराइन्छ,' मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरद्वारा विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै मन्त्रालयले एक्स र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेअनुसार विवरण उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ।
नेपालखबरसँगल कुरा गर्दै ठाकुरले थप भने, 'सम्पर्कमा आएका भनिएका वीच्याट र एक्स हो। उनीहरूले पनि हामीलाई अन्य विवरण पठाइसकेका छैनन्। शनिबार र आइतबार उनीहरूको बिदा भएकोले होला भोलिसम्म केही आउला।'
त्यस्तै मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको उल्लेख गर्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन प्रयोग नगर्न-नगराउन अनुरोध गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जालका प्लेटफर्महरूलाई निषेध नगरी व्यवस्थित बनाउन खोजिएको पनि भनेको छ।
सरकारले एक हप्ते म्याद दिएर भदौ १२ गते सूचीकरण आह्वान गर्दै सूचना जारी गरेको थियो। तर उक्त एक हप्तामा कुनै पनि संस्था सूचीकरण हुन नआएपछि प्रतिबन्ध लगाएको हो।
Shares

प्रतिक्रिया