समाज


सहकारीको ३७ करोडभन्दा बढी रकम हिनामिना गर्ने तीनजना पक्राउ

सहकारीको ३७ करोडभन्दा बढी रकम हिनामिना गर्ने तीनजना पक्राउ

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार २०:५४, काठमाडौँ

नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिए। सो संस्थाका एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए।  

उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ। बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास गरी दुई तहको अदालतले जेल सजाय र बिगो भराउने फैसला गरेसँगै उनीहरु फरार थिए। प्रहरीका अनुसार सो मुद्दाका अझै १० जना दोषी फरार छन्।  

अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, रु ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ। 

सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो।

उक्त फैसला विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकामा २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad