बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्।
आज दिउँसो २ बजे जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी घाइते भएका छन्।
घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भीर रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए। बाँकीको अवस्था सामान्य रहेको छ। घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन। जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिपमा चालकसहित जम्मा १३ जना सवार थिए।
चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडूले बताए। रासस
Shares

प्रतिक्रिया