नेपाल पर्वतारोहण संघमा नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता भएको छ। केन्द्रीय कार्यसमितिको निर्वाचनको उम्मेदवारीका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि खुला गरिएको थियो।
संघको नेतृत्व लिनका लागि दुई समूह प्यानलनै बनाएर चुनावमा होमिएका छन्। एउटा फुर गेल्जे शेर्पा र अर्को कुलबहादुर गुरुङ नेतृत्वमा प्यानल खडा गरिएको छ।
शेर्पा समूहलाई स्वतन्त्र व्यवसायीहरूको नाम दिइएको छ भने गुरुङ नेतृत्वको समूहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको नाम दिइएको छ। शेर्पा समूहलाई नेकपा माओवादी केन्द्रनिकट व्यवसायी भन्ने ट्याग लगाइएको छ।
उम्मेदवारी दर्ता गर्दा १० हजारदेखि २५ हजारसम्म शुल्क तोकिएको थियो। मतदान भने भदौ ७ गते शनिबार हुनेछ।
मतदाता नामावली साउन ३० गते प्रकाशन भइसकेको छ। उम्मेदवारको नामावली भोलि सोमबार बिहान ११ बजे प्रकाशन गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसो २ बजेसम्म उम्मेदवारमाथि दाबीविरोध गर्न पाइनेछ।
निर्वाचन समितिले उम्मेदवारहरूको दाबी–विरोधमाथि निर्णय गरी दोस्रो नामावली सोही दिन अपरान्ह ३ बजे सार्वजनिक गर्नेछ।
आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि भने भदौ ३ गते १० बजेदेखि २ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते अपरान्ह २꞉३० बजे प्रकाशन हुनेछ।
गुरुङ नेतृत्वको प्यानल
अध्यक्ष- कुलबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष- टिका राम गुरुङ, प्रथम उपाध्यक्ष- मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष- धन बहादुर गुरुङ, महासचिव- विमलकुमार नहर्की, सचिव- ङिमा दिकी शेर्पा, कोषाध्यक्ष- सुमी लामा मोक्तान, सदस्यहरूमा पुष्कर शाह, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, बल बहादुर सुयाल, सुदाश लामा, लालबहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई, अशोक कुमार तामाङ।
शेर्पा नेतृत्वको प्यानल
अध्यक्ष- फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष- ईश्वरी पौडेल, प्रथम उपाध्यक्ष- काजी शेर्पा, द्वितीय उपाध्यक्ष- बोधराज भण्डारी, महासचिव- राजेन्द्रबहादुर लामा, सचिव- चन्दन थापा, कोषाध्यक्ष- ङिमा नुर्वु शेर्पा, सदस्यहरूमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुनाल गुरुङ, देण्ड शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा, निशा भोटे।
Shares

प्रतिक्रिया