समाज


रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो

रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो

नेपालखबर
साउन २९, २०८२ बिहिबार १३:१०, काठमाडौँ

भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको काेठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको छ। 

कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिएको हो।

‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको (अलग्गै एउटा कोठामा ) राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ। निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लामिछाने राखिएको कोठाका सन्दर्भमा केही दिनयता सञ्चारमाध्यममा समाचार आइरहेकाले आफ्नो ध्यानाकर्षण भएको रुपन्देही जिल्ला कारागार कार्यालयले जनाएको छ। 

कारागार कार्यालयका अनुसार २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी छन्। क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कारागारमा उपलब्ध स्रोतसाधनको परिचालन गरी कानुनबमोजिमका सेवा-सुविधा समयमै उपलब्ध गराइरहेको दाबी कारागार कार्यालयले गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँड्डुल गर्ने, पढ्ने (विद्यालय शिक्षा / पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ। कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपांग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधासमेत उपलब्ध गराउने गरिएको छ। थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन। कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने बन्दीहरूका गुनासो सुन्ने र स्रोत-साधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad