समाज


‘फाट्टफुट्ट मान्छे आउँछन्, सनसिटी हेरेर खासखुस गर्छन् जान्छन्’

‘फाट्टफुट्ट मान्छे आउँछन्, सनसिटी हेरेर खासखुस गर्छन् जान्छन्’

सन्तोष न्यौपाने
बैशाख ३, २०७७ बुधबार १४:४२,

मंगलबार साँझ ६ बज्दै थियो। प्रहरीका गाडी ओहोरदोहोर गरिरहेका थिए। बाटोमा एकदुई जना फाट्टफुट्ट हिँडिरहेका थिए।

ती सबैका आँखा अग्ला भवनतिर सोझिएका थिए, जहाँ केही साताअघि बेलायतबाट आएका तीन जनामध्ये दुईमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

कोरोना भाइरस पुष्टि भएसँगै सनसिटी अपार्टमेन्टको चर्चा उपत्यकाभित्र मात्र सिमित रहेन। काठमाडौँमा दोस्रो पटक (पहिलो संक्रमित निको भइसकेका छन्) कोरोना भाइरस देखिएपछि सनसिटीको चर्चा हुनु स्वभाविक थियो।

‘कोरोना अब दैलोमै आइपुग्यो,’ काठमाडौँमा कोरोना भएको पुष्टिभएसँगै सामाजिक सञ्जालमा टिप्पणी आउन थाले।

काठमाडौंका अर्को कुनामा बसेका ट्विटेले यस्तो लेखिरहँदा सनसिटीको गेटनजिकै बस्ने पुष्पलाल बराल आफ्नो बार्दलीमा बसेर तिनै अग्ला भवनतिर नियाल्दै थिए।

पारि पुलिसको गाडी रोकिएको थियो। त्यसैबेला सशस्त्र प्रहरीको अर्को गाडी अपार्टमेन्टको गेटभित्र छिर्‍यो।

बराल अपार्टमेन्टनजिक बस्न थालेको पाँच वर्ष भइसक्यो। अहिलेसम्म सनसिटीको चर्चा यति धेरै कहिल्यै सुनेका थिएनन् उनले।

‘प्रहरीका गाडी आइरहेका छन्। हामी बाहिर निस्किन पाएका छैनौं,’ पञ्चेबाजा बजाउने व्यवसाय गर्दै आएका बरालले भने, ‘मान्छेहरु फाट्टफुट्ट आउँछन्, सनसिटी हेर्छन्, खासखुस गर्छन जान्छन्।’

16Suncity

सनसिटीको गेटैमा ग्लोबल आईएमईको एटीएम मेसिन छ। त्यसको सटर आधा मात्र खुलेको थियो।

छेवैमा नबिल बैंकको बन्द गेटभित्र केही सुरक्षा गार्ड देखिन्थे। नबिलको दुईमध्ये एक एटीएम बन्द थियो। अर्को गेटभित्र पनि छ।

सनसिटीका बासिन्दामा संक्रमण पुष्टि भएपछि यी एटीएम कसैले प्रयोग गरेको छैन।

सनसिटीको कोरोना भाइरस पुष्टि भएको ब्लकमै बस्ने अन्यको र्‍यापिड टेस्ट निगेटिभ आइसकेको छ। नजिकै बस्नेहरु आफ्नो पनि परीक्षण गराउन चाहन्छन्।

‘त्यहाँ बस्नेहरु सबैले यही वरिपरि खाद्यान्न र तरकारी किन्ने गर्नुहुन्थ्यो,’ रामेछाप घर भएका बरालले भने, ‘यसले पनि हामीलाई केही शंका उत्पन्न भएको हो।’

डेरी सञ्चालन गरिरहेका बच्चु लामिछने सनसिटीका १५ परिवारलाई दूध पुर्‍याउँछन्।

‘मैले कोरोना भाइरस देखिएको ब्लककै १३ तलासम्म दूध पुर्‍याउँथे,’ लामिछानेले भने। लकडाउन सुरु भएपछि गेटभित्र छिर्न पाइँदैन। उनी दूधको प्याकेट भाँडामा राखिदिन्छन् र फोनबाट भाँडाको नम्बर दिएर जानकारी गराउँछन्।

यही काम अन्य दूध वितरकले पनि गरिरहेका छन्। मंगलबार ६ बजे स्कुटरमा दूधका प्याकेट बोकेर एक व्यक्ति आए। उनले एक लिटर मात्र दूध पुर्‍याउने रहेछन्। गेटमै रहेका सुरक्षाकर्मीको सोधपुछपछि उनलाई पनि नम्बर राखेको भाँडामा छोडिदन अनुमति पाए।

लामिछानेले कसलाई कोरोना लागेको हो, पत्ता पाउन सकेका छैनन्। तर पनि आफ्नो पसलमा आउँथे कि भन्ने उनलाई पनि लागेको छ।

‘दश तलामा बस्ने दिदीलाई फोन गरेर सोधेको थिएँ। उहाँले पनि चिन्नुहुन्न रे,’ लामिछानेले भने, ‘उनीहरु बाहिर निस्किएका थिएनन् रे।’

अपार्टमेन्टभित्रको चुनावमा निस्के कि भन्ने भय उनलाई छ।

लकडाउन सुरुपछि उनले दूधको पैसा पनि बुझेका छैनन्। महिना सकिएपछि पैसा लिने गर्थे। अहिले भित्र छिर्नै पाएका छैनन्।

कोरोना भाइरस पुष्टि भएपछि दूध पसल खोल्न पनि प्रहरीले कडाइ गरेको छ।

‘दुईचार दिन पसल बन्द गर्ने विचार छ मेरो,’ उनले भने।

सनसिटी नजिकै भएकाले एकपटक आफ्नो पनि कोरोना परीक्षण गर्न पाए हुन्थ्यो भन्ने उनलाई पनि लागेको छ।

‘यसो गरेमा सबैलाई राम्रो हुन्थ्यो,’ उनी भन्छन्।

सनसिटी नजिकै सिलाइबुनाइको काम गर्ने राजु दर्नालको पसलमा सनसिटीका धेरै ग्राहक छन्। लकडाउनपछि पसल खोलेका छैनन् तर त्यसअघि त्यहाँबाट कोही आएको थियो कि भन्ने लागिरहेको छ।

‘शंका हो, आत्तिनु त नपर्ला,’ उनी आफैँलाई ढाडस दिन्छन्।

मान्छेहरु सनसिटीलाई शंकालु नजरले हेरिरहेका छन्। वरिपरिका घरमा सनसिटीकै चर्चा छ।

‘दुई जनालाई हुँदा अर्कोलाई किन भएन?’ वल्लो घरबाट पल्लो घरमा मान्छेहरु सवाल–जवाफ गरिरहेका छन्, ‘अर्कोले त भाइरस पचाइसकेको होला जस्तो लाग्छ।’

अपार्टमेन्ट क्षेत्रको फन्को लगाउँदा यस्तो अनुभव हुन्छ– मानौं, सनसिटीले ठूलै अपराध गरेको छ। प्रहरीले उसलाई सजाय दिन उभ्याइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .