आज साउन महिनाको तेस्रो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।
पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
यस वर्षको साउनको पहिलो सोमबारदेखि नै कोषको अग्रसरतामा चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ। निःशुल्क चलाइएको यी बसमार्फत् भक्तजनले सहज रुपमा पशुपतिनाथमा आएर दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन्।
बागमतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ। आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन्। आइतबार ओम बोलबम काँवरिया सङ्घमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए। यी भक्तजनले आज बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका छन्।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन्। पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन्। यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन्।
यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए।
साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।
आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ।
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ।
Shares

प्रतिक्रिया