भारतको ओडिसा प्रदेशको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी अर्थात् किट) विश्वविद्यालयमा दुई जना नेपाली छात्रा शंकास्पद अवस्थामा मृत फेला परेका घटना अनुसन्धानका लागि गठित समितिले प्रतिवेदन तयार पारेको छ।
केआईआईटीमा अध्ययनरत २० वर्षीया विद्यार्थी प्रकृति लम्साल २०८१ फागुन ४ मा कलेजकै होस्टलमा मृत भेटिएकी थिइन् भने अढाई महिना नबित्दै वैशाख १८ गते फेरि नेपाली छात्रा नै १८ वर्षिया प्रिसा साह मृत फेला परेकी थिइन्।
दुवै घटना अनुसन्धानका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा गठित समितिले यसमा विश्वविद्यालयका गैरकानुनी गतिविधि र प्रशासनको गम्भीर लापरबाही जिम्मेवार रहेको औँल्याएको छ।
प्रतिवेदनअनुसार, यदि विश्वविद्यालयले यौन उत्पीडनको उजुरीमा समयमै कारबाही गरेको भए यी आत्महत्या रोक्न सकिन्थ्यो। विश्वविद्यालय प्रशासनको कार्य आपराधिक दायित्वको दायराभित्र पर्छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यूजीसी समितिको प्रतिवेदनमा भनिएको छ, दुवै छात्राले विश्वविद्यालयको आन्तरिक उजुरी समिति (आईसीसी) मा यौन दुर्व्यवहारको उजुरी गरेका थिए। तर न त उचित अनुसन्धान गरियो न त कुनै कानुनी कारबाही गरियो। बरु विश्वविद्यालय प्रशासनले आरोपित विद्यार्थीलाई बचाएर अवैध सम्झौता गराउन खोज्यो।
प्रतिवेदनमा अगाडि भनिएको छ, पहिलो उजुरीपछि नै अभियुक्त विद्यार्थीविरुद्ध अनुशासनात्मक कारबाही गर्न सकिन्थ्यो, तर विश्वविद्यालयले जानाजानी उनलाई बचाएको थियो।
छानबिन समितिले विश्वविद्यालयको संरचना र कार्यप्रणालीमा गम्भीर त्रुटि औंल्याएको छ। प्रतिवेदन अनुसार:
-यौन उत्पीडनका उजुरी बेवास्ता गरियो।
-विश्वविद्यालयको छवि कानुन र न्यायभन्दा माथि राखियो।
-सुरक्षा प्रणाली अत्यन्तै कमजोर थियो।
-अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई गम्भीरतापूर्वक लिइएन।
समितिले आईसीसीका सदस्य र विश्वविद्यालयका वरिष्ठ अधिकारीविरुद्ध फौजदारी अभियोजन सुरु गर्न सकिने पनि उल्लेख गरेको छ।
प्रतिवेदनले विश्वविद्यालयको विस्तारमा प्रतिबन्ध लगाउन र दोषी अधिकारीहरूविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नु) का पूर्वउपकुलपति नागेश्वर रावको अध्यक्षतामा गठित अनुसन्धान समितिमा राष्ट्रिय योजना तथा प्रशासन संस्थानकी उपकुलपति शशिकला वंजरी, दक्षिण बिहार केन्द्रीय विश्वविद्यालयका पूर्वउपकुलपति एचसीएस राठौर र यूजीसीका सहसचिव सुनीता सिवाच छन्।
Shares

प्रतिक्रिया