समाज


झापामा लागुऔषध गोदाममा प्रहरीको छापा, ठूलो मात्रा बरामद

झापामा लागुऔषध गोदाममा प्रहरीको छापा, ठूलो मात्रा बरामद

फाइल फोटो


नेपालखबर
साउन २, २०८२ शुक्रबार १५:२६, झापा

प्रहरीले झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको एउटा औषधि गोदामबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा भण्डारण गरिएको लागुऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले विर्तामोड नगरपालिका–५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरेको पाइएको आज पत्रकार सम्मेलनमार्फत बताए। 

उनका अनुसार बरामद भएका लागुऔषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० रहेका छन्।

प्रहरीले बराम सामग्रीसँगै पक्राउ परेका एकजना अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ। अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 

‘प्रहरी टोलीले सूचना पाएको आधारमा भाडाको कोठामा पुगेर हेर्दा ठूलो मात्रामा लागुऔषध र प्रतिबन्धित औषधि फेला पारेको हो’, उनले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसारपसार र वितरण कसुरमा आजै मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’

प्रहरीले एउटा मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेर नियन्त्रणमा लिएको जनाएको छ। बरामद भएका प्रतिबन्धित औषधिको कारबाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको र विभागले नै थप कानुनी कारबाही अघि बढाउने श्रेष्ठले बताए।

यस आपराधिक घटनामा अरू को को संलग्न रहेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै उनले दोषीमाथि कानुनी कारबाहीमा कुनै कसर बाँकी नराखिने बताए।

स्थानीयले लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन्। खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका छन्।

अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad