ad ad

समाज


धेरै संक्रमित भारतबाट आएका, अब कति खतरा?

धेरै संक्रमित भारतबाट आएका, अब कति खतरा?

सागर न्यौपाने
चैत ३०, २०७६ आइतबार १६:३,

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा त्यसको ठूलो असर पर्ने चिन्ता जनस्वास्थ्य विज्ञहरुले जनाएका छन्।

नेपालमा हालसम्म संक्रमित १२ जनामध्ये ५ जना भारतबाट आएका हुन्। पर्सामा फेला परेका तीन जना भारतीयमा कोरोना संक्रमण रहेको आइतबार सरकारले पुष्टि गरेको छ।

यसअघि चैत २२ गते धनगढीमा पनि भारतबाट आएका २ जनामा कोरोना पोजिटिभ देखिएको थियो। उनीहरुको सेती अञ्चल अस्पताल, धनगढीको आइसोलेसनमा उपचार भइरहेको छ।

अर्कोतर्फ भाइरस रोकथामका लागि भारतमा देशव्यापी लकडाउन घोषणा गरिएपनि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार भारतमा साढे ८ हजार संक्रमित भएका छन्, भने २ सय ७३ जनाको मृत्यु भइसकेको छ।

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भारतमा कोरोना संक्रमितको संख्या बढ्नु नेपालको लागि चिन्ताको विषय भएको बताए।

‘यसका कारण नेपाल पनि सचेत बन्नुपर्छ, छिमेकी भारतसँग हाम्रो निकट सम्बन्ध छ,’ उनले भने, ‘त्यहाँ कोरोना संक्रमण बढ्दा यता समस्या पर्छ।’

नेपाल र भारतको सीमालाई अझै व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको उनले बताए।

‘भारतमा कोरोना संक्रमित बढ्न थालेपछि नेपालमा चुनौती देखियो,’ डा. पाण्डेले नेपालखबरसँग भने, ‘यदि सीमालाई व्यवस्थित बनाउन सकिएन भने त्यो झिल्कोले दुवै देशलाई समस्या पार्ने खतरा देखिन्छ।’

नेपाल–भारत सीमा लामो र अनेकौँ औपचारिक–अनौपचारिक नाका हुनाले आउजाउमा प्रतिबन्धका बाबजूद मानिसहरु ओहोरदोहोर गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै नेपालमा लकडाउनको अवधि थप गर्ने, सीमामा कडाइ गर्ने बताएका छन्।

भारतकै कारण नेपालमा कोरोनाको उच्च जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक वरिष्ठ चिकित्सकले बताए।

‘अबको दुई हप्तामा भारतमा के हुन्छ, त्यहाँ कोरोनाले प्रकोपको रुप लिन्छ कि लिँदैन,’ उनले भने, ‘नेपालको अवस्था त्यसैमा निर्भर हुन्छ।’

शनिबार पर्सामा फेला परेका तीन जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ।

युरोपपछि अमेरिका अहिले कोरोनाको एपिसेन्टर बनेको छ। अमेरिकामा सवा ५ लाख मानिस संक्रमित भएका छन्, भने झण्डै २१ हजारको मृत्यु भइसकेको छ।

यद्यपि ती मुलुकबाट नेपालको सम्बन्ध पातलो भएकाले खास समस्या नपरेपनि भारतमा त्यस्तो स्थिति आए नेपालमा पनि विकराल परिस्थिति पैदा हुने टेकुका ती चिकित्सक बताउँछन्।

‘हाम्रो छिमेकी भारतमा ठूलो जनसंख्या छ। मानिसहरु सरकारलाई टेर्दैनन्, ती डाक्टरले भने, ‘त्यसैले भारत महामारीको एपिसेन्टर बन्ने जोखिम छ। त्यसले नेपाललाई असर गर्नु स्वभाविक हो।’

चैत १२ गते भारतले सुरु गरेको लक डाउन वैशाख २ गते सकिँदैछ। यद्यपि लकडाउन पुनः दुई साता थपिने बताइएको छ।

भारतले प्रभावकारी रुपमा भाइरस नियन्त्रण गर्न सके नेपाललाई पनि सहज हुने इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन्।

‘हामीले नयाँ रणनीति बनाउँदा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ, छिमेकी देशले अख्तियार गरेको योजना अनुसार हामी चनाखो हुनुपर्छ,’ डा. पाण्डेले थपे।

भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपालले ज्यादा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .